हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने
गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको
पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको
आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न
भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी
गर्यो ।
दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो । सो विवाद राजासमक्ष
पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो
भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको
जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने
उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको
रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका
अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका
प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल
गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा
मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने,
शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन्
।
पुस्तक श्रीमत्स्यनाथ
No comments:
Post a Comment