आयुर्वेदको परिचयः आयुर्वेद पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धति हो। आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो। पाँच वटा आधारभूत तत्वहरू (पञ्चमहाभूत) पृथ्वी, जल, अग्नि,वायु र आकाशले यो ब्रह्माण्ड बनेको छ। ब्रह्माण्डमा भएका मानिस, खाना, औषधि यिनै पाँच आधारभूत तत्वहरू (पञ्चमहाभूत) ले बनेका हुन्छन्। आयुर्वेदको शरीरक्रिया विज्ञानअनुसार हाम्रा शरीर तीन दोष (वात ,पित् र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल( मूत्र, पुरीष र स्वेद) ले बनेको हुन्छ। यी घट्दा वा बढ्दा रोगलाग्ने र यथावत हुँदा स्वस्थ रहिन्छ भन्ने आयुर्वेदको मान्यता छ।
चिकित्सा गर्दा शरीरको जुन चीज जेले बनेको त्यस्तै सेवन गर्दा त्यो चिज बढ्छ र विपरीत सेवन गर्दा घट्दछ भन्ने सिद्धान्त छ। प्राकृतिक आहार, विहार, आचार र औषधि विधि अपनाउने हुनाले आयुर्वेद चिकित्सा हानीरहित छ। औषधि सेवन, स्नेहन(शरीरमा तेल लगाउने विधि), स्वेदन(शरीरको सेकाई गर्ने विधि), पञ्चकर्म, क्षारसूत्र, अग्निकर्म, जलौका प्रयोग, दिनचर्या र ऋतुचर्या पालन गर्नु, स्वास्थ्य रक्षाका लागि गर्न हुने र नहुने विधि (सद्वृत) पालन गर्नु, आचार रसायन, योग, ध्यान अन्तर्गतका विधि पालन गर्नु आयुर्वेद चिकित्सा विज्ञानका मुलभूत प्रचलित चिकित्सा विधिहरूमा पर्दछन्। नसर्ने रोग न्यूनीकरणका लागि यी विधि अत्यन्त प्रभावकारी छन्।
आयुर्वेदको परिभाषाः आयुको वेद (Science of life) अथवा हित आयु, अहित आयु, सुख आयु, दुःख आयु तथा आयुको मान वर्णन गरिएको शास्त्रलाई आयुर्वेद भनिन्छ।
आयुः शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ।
आयुका चार आयामः हित आयु, अहित आयु, सुख आयु, दुःख आयु गरी चार प्रकारका आयु हुन्छन्।
हित आयुः प्राणीको भलाइ चाहने, अरूको धनको इच्छा नगर्ने, सत्यवादी, शान्तिप्रेमी, विचारशील, सावधान रहने, धर्म, अर्थ, काम तीनैलाई समयमा गर्ने, पूज्यको पूजा गर्ने, ज्ञानशील, शान्तिशील, वृद्धको सेवा गर्ने, राग, इर्ष्या, मद, मान आदिको धारण गर्नेवाला, आध्यात्म एवं विधा जान्ने स्मरणशक्तियुक्त पुरूषको आयुलाई हित आयु भनिन्छ।
अहित आयुः हित आयुको विपरीत पुरूषको आयुलाई अहित आयु भनिन्छ।
सुख आयुः शारीरिक र मानसिक रोगरहित, युवा, कार्य गर्नमा समर्थ, बल, विर्य, धैर्य, यश, पुरूषार्थ एवं पराक्रमशील, ज्ञान, विज्ञान र इन्द्रियबल युक्त, अति सम्पत्तिवान्, जसले इच्छा गरेका सबै काम पुरा हुन्छन, आफ्नो इच्छाअनुसार भ्रमण गर्ने पुरूषको आयुलाई सुख आयु भनिन्छ।
दुःख आयुः सुख आयुभन्दा भिन्न मनुष्यको आयुलाई दुःखायु आयु भनिन्छ।
आयुर्वेदको उद्देश्यः स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने तथा आतुर (रोगी) को रोग प्रशमन गर्ने आयुर्वेदको मूल उद्देश्य हो। प्राणी, वनस्पति र खनिज आयुर्वेद औषधिका मूल स्रोत हुन्।
स्वास्थ्यको परिभाषाः दोष, अग्नि, धातु, मलक्रिया सामान्य रहनु, आत्मा ,मन र इन्द्रिय प्रसन्न रहनुलाई स्वस्थ भनिन्छ।
No comments:
Post a Comment