योगी नरहरिनाथको सम्पुर्ण अडियो भाषण तथा प्रवचन

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।
आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए ।भारतमा लोकतान्त्रिक सरकार गठन भएपछि भारत सरकारले ताम्रपत्र, स्वतन्त्रता सेनानी जीवनवृत्ति तथा भारतीय भूमिमा प्रदान गर्न चाहेको आ श्रम अस्वीकार गर्दै'मलाई आफ्नै देश र आफ्नै माटो प्यारो छ' भन्दै नेपाल फर्किएका थिएऽ योगी नरहरिनाथ २००४ कात्तिक २० गतेदेखि स्थायी रूपमा मृगस्थलीमा बस्न थाले। >योगी नरहरिनाथ नौ वर्षको उमेरमा जुम्ला, चौघानस्थित वटुकभैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गरेका थिए । त्यसपछि उनले हरिद्वार, मायापुरी योगा श्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गरे ।

भाग १ - श्री ५ विरेन्द्रको वंस नास भएपछि दिएको शसत्त प्रवचन


भाग २ - पशुपतिमा भारतिय भट्टहरु कसरी मुल पुजारी बने


भाग ३ - कोटिहोम विशेषमा योगी नरहरीनाथले दिनुभएको बहुआयमिक प्रवचन


भाग ४ -विभिन्न प्रश्न र तिनका उत्तर प्रवचन(महिला पुरुषलाई गायत्री मन्द्र बाँड्दै)


भाग ५ - विश्व युद्ध हिन्दुहरुले सुरु गरेका होईनन


भाग ६ - विदेशीहरुले नेपालको संस्कृति मास्न के के गरिरहेका छन ?


भाग ७ - गायत्री मन्त्रको उत्पत्ती र महत्व। ओमकार के हो ? वेद मुल ओम हो ।


भाग ८ - कैलाश ५ वटा छन। हाम्रो कुल मुल कैलाश हो भनेको छ।


भाग ९ - कृष्णको बारेमा दिएको प्रवचन। योगी नरहरीनाथ


भाग १० - गाईको रक्षाको निम्ति के के गर्ने। गाईलाई कसरी संरक्षण गर्ने बारेको प्रवचन


भाग ११ - नेपालीले के गर्ने के नगर्ने? यि तिन मार्ग नेपालीले अनुसरण गर्नु पर्छ


भाग १२ - छोरा छोरी बराबर हुन । हिन्दु धर्ममा भेदभाव छैन। भेदभाव छ भने समाजको कुरिति हो। योगी नरहरिनाथ।


भाग १३ - राज्यको धर्म के हो ? जनता कस्तो हुनु पर्छ ? योगी नरहरिनाथ।


भाग १४ - देशका नागरिकले कसरी अध्यात्म, हिन्दु र राष्ट्रियता कसरी बचाउने ? योगी नरहरिनाथ।



योगीको राष्ट्रमोह

वि.सं. १९९२÷९३ मा वाराणसी, गोरक्षटिल्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन गरे । लाहौर, प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध तथा अन्य दर्शनशास्त्रको अध्ययन गरे । विसं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट वि.सं. १९९७ मा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हण अध्ययन गरी वेदालंकार परीक्षा उत्तीर्ण गरे । साधुसन्तको संगत रुचाउने तत्कालीन श्री ३ जुद्धशमशेरले पशुपतिमा लक्ष्यहोम गरी १० हजार गाईदान गर्दा योगी नरहरिनाथका लागि पनि उनको प्रतिभा र बौद्धिकताको सम्मान गरेर गोरक्षपीठः मृगस्थलीको चार रोपनी क्षेत्रफलको जग्गामा दुईवटा आ श्रमघर र गौशाला बनाइदिएका थिए । त्यही नै उनको पूरै जीवन व्यतित भएको थियो । तात्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेरद्वारा राजकीय सम्मानका साथ उनलाई २००४ पुस ४ गतेदेखि गोरखनाथ मठको पीर महन्तको रूपमा नियुक्त गरिएको थियो । वि.सं. २०१८ पुस १ गतेसम्म योगी महन्तकै रूपमा रहे । गोरखनाथ मठका महन्त योगी नरहरिनाथ भए तापनि उनको कार्य व्यस्तताका कारण उहाँले महन्त पदमा रहेर गर्नुपर्ने सम्पूर्ण कामको जिम्मेवारी आफ्ना गुरु छिप्रानाथ योगीलाई सुम्पिएका थिए । २०४४ पुस ९ गतेका दिन योगी छिप्रानाथ ब्रम्हलीन भएपछि उक्त जिम्मेवारी रामनाथ योगीलाई दिइयो। 'अलख निरञ्जन, भिक्षां देही' भन्दै सिदा नमागेर ऐतिहासिक प्रमाण माग्दै हिँडेका योगी नरहरिनाथ नेपालको मौलिक इतिहास र मौलिक संस्कृतिको खोजीमा भौतारिएका थिए ।
त्यसपछि २०४५ चैत्र १ गतेदेखि उक्त जिम्मेवारी टीकानाथ योगीलाई प्रदान गरियो । टीकानाथ योगीलाई उतै बस्ने गरी मुम्बईबाट निमन्त्रणा आएपछि २०४६ साउन १ गतेका दिनदेखि रूपनाथ योगीलाई गोरखनाथमठको पीर महन्तको जिम्मेवारी दिइएको थियो । अहिले गोरखानाथमठका प्रमुख मठाधीश पदमा योगी नरहरिनाथका शिष्य योगी श्रीषनाथ छन् ।राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, थुप्रै भाषाका ज्ञाता, ४५ वटा लक्षहोम १२९ वटा कोटिहोम र ५ वटा शिवयज्ञकर्ता, गोभक्त, आजीवन-विद्यार्थी, आजीवन-पदयात्री, आजीवन-योगाभ्यासी, आजीवन-स्वयम्सेवक, आजीवन-परोपकारपरायण, विश्वशान्ति-विश्वकल्याण परायण, आबाल ब्रह्मचारी, शतशहस्र तीर्थयात्री, भारद्वाजगोत्रीय ऋषि, हिन्दु राष्ट्रगुरु, वनस्पति परिचयज्ञ, सहस्राधिक-पुस्तक लेखक तथा प्रकाशक, बृहदाध्यात्मिक परिषद् संस्थापक, धार्मिकाध्यात्मिक-सांस्कृतिक साहित्यिक राष्ट्रिय संस्था संस्थापक, विश्वहिन्दु महासंघ संस्थापक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक आदि विशेषणले पनि चिनिन्छ । योगी नरहरिनाथले कर्मवीर महामण्डल, इतिहास प्रकाश संघ, आर्यवीर संघ, बृहत् आध्यात्मिक परिषद्, नेपाली लोकसाहित्य परिषद्, संस्कृत वाङ्मयानुसन्धान परिषद्, आर्षविद्या शोध केन्द्र, विभिन्न कोटिहोम समितिहरू स्थापना गरेका थिए ।
योगीले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत एक सय १४ वटा तथा इतिहास तथा पुरातत्वसम्बन्धी आठवटा, पाक्षिक÷मासिक÷त्रैमासिक पत्रपत्रिकाहरू १० वटा, अन्य विविध विषयका दुई सय ६३ वटा गरी जम्मा पाँच सय ७१ वटा पुस्तकहरू (अप्रकाशित एक सय ७६ पुस्तकसमेत) प्रकाशित गरेको विवरण पाइएको छ । उनले रचना गरेका कृतिमध्ये अन्योक्ति मुक्तावलीका केही भाग, इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको कुल ८२ भागमध्ये ७५ भाग, इतिहास प्रकाशको कुल ८२ भागमध्ये ७८ भाग, शिखरिणीयात्राको कुल १५ भागमध्ये १४ भाग, अभिलेखमालाहरू, करिब ६ सयवटा थर गोत्र वंशावलीहरू, अवतार विभूति फल परिचय, मनुस्मृति पद्यमय टीका र कोटीहोम परिचय ७४ भागलगायत एक सय ७६ वटा पुस्तकहरू प्रकाशन हुन बाँकी नै रहेको देखिन्छ । उनले संस्कृत सन्देशः (अभिलेख प्रधान), जयतु संस्कृतम् (भाषा साहित्य प्रधान), पुरुषार्थः (धर्म प्रधान), कर्मवीर सन्देशः, हिमवत्संस्कृतिः (संस्कृति र इतिहास प्रधान), विश्वात्मदर्शनः, सरयुसन्देशः, नाथवाणीः, ग्राम गरिमा, नाथ सन्देशः र संस्कृतामृतजस्ता पत्रिकाको सम्पादन एवम् सञ्चालन पनि गरेका थिए। । राष्ट्रिय स्वाधीनताका सवालमा पनि योगी अत्यन्त सजग थिए । उनले तात्कालिक नेपाल सरकारको निर्णयअनुसार चितवन जिल्ला, नारायणगढ बजारभन्दा उत्तरतर्फको नेपालको सांस्कृतिक, पुरातात्िवक एवम् धार्मिक क्षेत्रभित्रको ४२ बिगाहा जग्गा भारतीय र संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनिया विश्वविद्यालयलाई चिकित्सा शास्त्र अध्ययन केन्द्र स्थापना गर्नका लागि निःशुल्क दिने निर्णयविरूद्ध सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेश जारी गरी पाउन रिट निवेदन दिएका थिए । सोही रिट निवेदनका आधारमा विसं. २०५२ साल वैशाख १७ गतेका दिन सर्वोच्च आदलतबाट जारी गरिएको उत्प्रेषणको आदेशद्वारा नेपाल सरकारको निर्णय बदर भएको थियो । त्यस स्थानमा अहिले'योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय', गौशाला, गुरुकुल आदि सञ्चालन भइरहेका छन् ।
त्यसैगरी सुगौली सन्धिपूर्व नेपाली भू-भागको हैसियत पुनः प्राप्त गरी गराई'नेपाल अधिराज्यको संविधान-२०४७'को धारा ४ को उपधारा २ को (ख) बमोजिम नेपाल अधिराज्यको भू-भाग कायम गर्नू गराउनू भनी मन्त्रिपरिषद्लगायत प्रत्यार्थीहरूका नाममा परमादेश जारी गरी नेपाल अधिराज्य र नेपाली जनताका लागि पूर्ण न्याय गर्न गराउनका लागि योगी नरहरिनाथ, प्रल्हाद हुमागाई, प्रकाशराज देवकोटा, अशोकलाल श्रेष्ठ र अधिवक्ताहरू रामजी विष्ट, श्यामप्रसाद ढुंगेल र राधेश्याम लेकालीहरूद्वारा विसं. २०५४ साल असार ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
योगीमाथि आइलागेका विपत्ति
वर्तमान राजनीतिक समाजले योगी नरहरिनाथलाई राजावादी वा पञ्चायतका पक्षधर मानिरहेको छ भने तात्कालिक पञ्चायती व्यवस्थाले उनलाई अराष्ट्रिय तत्व आदि इत्यादि आरोप लगाएर दुःख दिने गरेको थियो । यस्तै घटनामध्ये विसं. २०१७ साल कात्तिक ९ गतेको'गोरखा काण्ड' एक चर्चित काण्ड हो । यस घटनाको रिसमा योगी नरहरिनाथका सम्पूर्ण सरसामान तथा ऐतिहासिक सामग्रीका बोरा तात्कालिक सरकारले प्रहरी खटाएर आगो लगाइदिँदा सात दिनसम्म मृगस्थली वन क्षेत्रमा धुवाँको मुस्लो उठेको स्मरण गर्नेहरू अझै पनि छन् । विसं. २०३३ साल साउन १८ गतेदेखि माघ १ गतेसम्म पञ्चायती सरकारले हिरासतमा राखेर छोडेपछि योगी भारतमा निर्वासनमा गएका थिए । पञ्चायतका व्यक्तिहरूले उनको ज्यान नै लिने उद्देश्यले काँचको धुलो मिसाएको पानी खान दिँदा धेरै समयसम्म मुच्र्छित भएका पनि थिए ।
योगी नरहरिनाथ ८८ वर्षको उमेरमा मिति २०५९ फागुन १३ गते मंगलबार राति १२:४० मा मृगस्थली आ श्रममै ब्रम्हलीन भए । उनी ब्रम्हलीन भएपछि नेपाल सरकारको गुठी संस्थानले योगी नरहरिनाथ आ श्रममा ताल्चा लगाइदिएको थियो । ताल्चा खोलेर योगीका अप्रकाशित दस्तावेज संरक्षण संवद्र्धन गर्ने, औषधोपचार गर्ने, प्रकाशन गर्ने अनुमति माग गर्दा पनि गुठी संस्थानले कुनै सुनुवाइ गरेन । गुठी संस्थानले पटकपटक आलटाल र जालझेलमात्र गर्‍यो । कहिले आधिकारिकताको प्रमाण माग गर्‍यो, कहिले पशुपति गुठीको सिफारिस माग्यो । यसरी आपूmले पनि संरक्षण नगरिदिने र अरूलाई पनि संरक्षण गर्न नदिने गुठी संस्थानको बदनियतले समाज र राष्ट्रको महत्वपूर्ण सम्पत्ति नोक्सान हुने अवस्थामा पुगे ।
जीवनको अन्तिम क्षणसम्म पनि योगी राष्ट्र र राष्ट्रियताका निमित्त चिन्तित भइरहे । योगी नरहरिनाथको सम्पूर्ण जीवन मातृभूमिको सेवा, राष्ट्रभक्ति, नेपाल र नेपालीको मौलिक भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने सत्कार्यमा नै बितेको थियो । उनले सिर्जना गरेका कृतिहरू समाज, राष्ट्र र विश्वमानव परिवारका निमित्त अमूल्य सम्पत्ति हुन् । उनले विसं २०२२ चैत्र १ गतेका दिन स्थापना गरेको' श्रीबृहत् आध्यात्मिक परिषद्' नामक संस्थाले मृगस्थलीमा रहेका उनका सामग्रीको संरक्षण गरी'योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय' सञ्चालनमा ल्याएको छ । यस पुस्तकालय तथा संग्रहालयमा योगीद्वारा लिखित एवम् प्रकाशित करिब तीन सय ५९ वटा पुस्तक÷पुस्तिका एवम् पत्रपत्रिकाहरू लगायत योगी नरहरिनाथले आफ्नो जीवनकालमा प्रयोग गरेको सामग्री संरक्षण गरिएको छ ।
वैदिक कार्यमा योगी
योगी नरहरिनाथले विसं. २०३८ माघेसक्रान्तिका दिन गलेश्वरबाबा आ श्रम, देवघाट, तनहुँदेखि कोटीहोम गर्न सुरु गरी एक सय २९ वटा कोटीहोम ४५ वटा लक्ष्य होम र पाँच वटा शिवयज्ञहरू सम्पन्न गरेका थिए । यिनै कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याए । कोटीहोमकै माध्यमबाट संकलन भएको आर्थिक सहयोगलाई गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरे । वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको सुरुवात गरे । वेद र उपनिषद्का उपदेशलाई सरल र सहजशैलीमा अथ्र्याए । पृथ्वी, जल, अग्नि, वायु र प्रकृतिको संरक्षणको महत्व उजागर गरे । संस्कृत भाषा नै अन्य सबै भाषाहरूको जननी भाषा भएकोले संस्कृत भाषाको संरक्षण संवद्र्धन तथा संस्कृत शिक्षाको महत्वलाई जोड दिँदै दाङको बेलझुन्डीमा'नेपाल संस्कृत विश्वविद्यालय' र भारतको गिरिजापुरीमा'सरयु संस्कृत विश्वविद्यालय' स्थापना गर्न पहल गरे ।
समग्र राष्ट्र, राष्ट्रियता र मानवसमाजका लागि आफ्नो जीवन समर्पित गर्ने योगी नरहरिनाथलाई राष्ट्र र नेपाली समाजले बिर्सिएको वा वास्ता नगरेजस्तो छ । अन्य देशका योगी पण्डित नेपालमा सम्मानित एवम् पूजित छन्, तर नेपालकै राष्ट्रगुरु योगी नरहरिनाथ र उहाँका कृति एवम् देनहरू उपेक्षित रहेका छन् । योगीको कठिन मेहनत र सत्प्रयासमा संकलन भएका मेचीदेखि महाकालीसम्मका संस्कृति, कला, भाषा, साहित्य, इतिहास र पुरातत्व केवल कसिंगरको रूपमा सड्न, गल्न र धुलोमाटोमा विलिन हुनका लागि मृगस्थलीस्थित अत्यन्त जीर्ण भवनका कोठामा विगत लामो समयदेखि ताल्चा लगाएर बन्द गरिएका थिए ।
राष्ट्रको सम्पत्ति बचाइदिनु पर्‍यो भनेर सम्बद्ध निकायहरूमा पटकपटक अनुरोध गर्दा पनि योगी नरहरिनाथका सम्बन्धमा न कसैले सुन्न चाह्यो न केही गर्न चाह्यो । नेपाल र नेपालीको वास्तविक पहिचानका महत्वपूर्ण ऐतिहासिक प्रमाणहरू ढुटोमाटोमा परिणत हुँदा स्वाभिमानी नेपाली समाजको शिर कसरी उठ्न सक्ला र ? योगी नरहरिनाथका खोज एवम् अनुसन्धान राष्ट्रका निमित्त महत्वपूर्ण सम्पत्तिको रूपमा रहेकाले यसलाई बचाउनु वर्तमान मानवसमाजको प्रमुख दायित्व हो।
मृगस्थलीस्थित योगी नरहरिनाथ आ श्रम अत्यन्त जीर्ण भइसकेको थियो । विसं. २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पको परकम्पन लगातार आई नै रहेको थियो । भूकम्पको परकम्पनका कारण कतिबेला जीर्ण भवन ढल्छ र योगी नरहरिनाथका सम्पूर्ण संकलनहरू पनि भग्नावशेषमै पुरिन्छन् भन्ने त्रास रहीरहेको थियो । योगी नरहरिनाथले बडो दुःख कष्टका साथ संकलन गरेका सामग्रीलाई विसं. २०१७ सालमा सरकारले प्रहरी खटाएर आगो लगाइदिएको थियो, केही सामग्री विसं. २०२८ सालमा सिंहदरबार आगलागीमा परेका थिए । अब मृगस्थली आ श्रममा बाँकी रहेका सामग्री त बचाउनु पर्‍यो भनेर प्रयास गर्दा पनि सरकारको सहयोग प्राप्त हुन सकेन ।
२०७२ चैत्र १५ गते सोमबार अपराह् ४ बजेतिर काठमाडौं उपत्यकामा आएको हावाहुरी र आँधी तूफानले गोरक्षपीठ, मृगस्थलीस्थित राष्ट्रगुरु योगी नरहरिनाथ आ श्रमको उत्तरतर्फको टिनको छाना उडाइदियो । सोही समयमा पानी पर्दा राष्ट्रगुरु योगी नरहरिनाथले त्यहाँ संग्रह गरेका सम्पूर्ण सामग्री नष्ट हुने सम्भावना देखियो । यस्तो परिस्थितिमासमेत यस स्थानमा गुठी संस्थानको उपस्थिति रहेन । राष्ट्रगुरु योगी नरहरिनाथले राष्ट्रका निम्ति गरेको मूल्य योगदानलाई प्राकृतिक विपत्तिका कारण राष्ट्रका निमित्त सुरक्षित राख्न कठिन भएपछि परिषद्ले मानवीय एवम् राष्ट्रियताप्रतिको कर्तव्यको पालना गर्दै सुरक्षाका निमित्त आफंैले बोकेर गोरक्षनाथमठभन्दा पूर्वतर्फ रहेको नयाँ भवनमा सुरक्षित स्थानान्तरण गरेको थियो । धेरै सामग्री नोक्सान भइसकेको अवस्थामा पनि कतैबाट केही सहयोग प्राप्त भएन । भोलिपल्टदेखि नै ती सम्पूर्ण सामग्रीको छनोट गर्ने कार्य प्रारम्भ गरियो।
स्थानान्तरण गरिएका सम्पूर्ण सामग्रीको सूचीकरणपश्चात् पुनः व्यवस्थापन तथा आवश्यक औषधोपचार गरी सुरक्षित तुल्याउने प्रयासलाई अघि बढाइयो । परिषद् आफैंले राख्न मिल्ने सामग्रीहरू'योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय'मा सुरक्षित गरी सम्पूर्ण अध्ययनअनुसन्धाता, शोधकर्ता, शिक्षक, विद्यार्थी एवम् जिज्ञासु जनसमुदायको कल्याणका निमित्त उपलब्ध गराउने प्रयासलाई अघि बढाइएको छ ।
विसं. २००७ सालअघिसम्म नेपालमा पढ्ने पढाउने वातावरण थिएन । जो जसले पढे, अध्ययन गरे विदेशी भूमिमै पुगेर दुःखसुख गरी शिक्षित भएका थिए भन्ने कुरा पाठकहरूलाई अथ्र्याई रहनु परोइन । पूर्वपश्चिम लोकमार्ग, मुग्लिन-नारायणगढ÷हेटांैडा-काठमाडौं मार्ग वा मुलुकका अन्य जिल्लाहरू जोड्ने सडकमार्गहरू बनेकै थिएनन् । न त सबै ठाउँमा हवाई यातायातको साधन नै उपलब्ध थिए । त्यसमाथि झन तराई प्रदेशमा औलोको डरले छिर्नै नसकिने अवस्था थियो । यस्तो अवस्थामा उकाला, ओराला, खोलानाला, वनजंगल, हिंस्रक वन्यजन्तु, तराईको भावर, दून अनि औलोको सामना गर्न सक्ने दुस्साहस अकल्पनीय नै थियो ।
सरकारी आतिथ्यतामा नेपालको अध्ययन-अनुसन्धान गर्ने विदेशी विद्वानहरूका लागि पनि नेपालको भौगोलिक विकटता तथा शैक्षिक चेतनाको अभावका कारण समग्र नेपालको अध्ययन अनुसन्धान सम्भव हुनै सकेन । तात्कालिक परिवेशमा राजधानीमा रहेका स्वदेशी विद्वानहरूलाई पनि थानकोट नाघेर बाहिर गई अध्ययन अनुसन्धान गर्न सम्भव थिएन नै । स्वदेशी विदेशी सबै अनुसन्धानकर्ताहरूको अध्ययनको क्षेत्र उपत्यकाभित्र नै साँघुरिएको थियो । मुलुकको यो अवस्थाले गर्दा काठमाडौं उपत्यकाभित्र व्यापक अध्ययन अनुसन्धान हुन सक्यो भने बाहिर पटक्कै सम्भव भएन । त्यसैले बाहिरको इतिहास अझैं पनि पूर्ण हुन सकेको छैन । मुलुकको यो अवस्था रहँदा इतिहास, संस्कृति र पुरातत्वको अध्ययन-अनुसन्धानका निमित्त मुलुक चाहार्न सक्ने साहस कुनै पनि नेपाली विद्वानहरूले गर्न सकेको प्रमाण पाइँदैन । यस्तो परिस्थितिमा पनि योगीका निर्भीक पाइला रोकिएनन्।
काँधमा झोला भिरेर खोलानाला, पहाडपर्वत र वनजंगल, जंघार छिचोल्दै गाउँगाउँबाट ऐतिहासिक एवम् पुरातात्विक सामग्रीहरू बटुल्दै काठमाडौं पुर्‍याउने र छाप्दै जाने काम केवल योगी नरहरिनाथले मात्रै गरेकोमा दुईमत छैन, यथेष्ट प्रमाणहरू सर्वत्र छरिएर रहेका छन् । योगीले काठमाडौंमा बसेर अध्ययन अनुसन्धान एवम् व्याख्या र प्रकाशन गर्ने'इतिहास प्रकाश मण्डल' नै स्थापना गरेका थिए जसको नेतृत्व इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका थिए । विसं. २०२१ इन्द्रजात्राका दिन प्रकाशन भएको २४ पाने सन्धिपत्रसंग्रहको पृष्ठभूमि लेख्दा योगी नरहरिनाथले'जानन्तु सर्वे जनाः' भनेर २५ वर्षदेखि गोर्खा राष्ट्रका सात प्रदेश १४ अञ्चलका ऐतिहासिक सामग्रीहरूले इतिहास प्रकाशको ६३ भाग र टिष्टा, कांगडा, गंगा र दिगर्चासम्मका ऐतिहासिक सामग्रीहरू १५ देखि २० हजार थानसम्म संकलन गरिएको बेहोरा उल्लेख गर्नुभएको छ ।
नेपालको भौगोलिक विकटता, यातायात साधनको अल्पता र औलोको महामारीका बीच पनि योगी नरहरिनाथले मुलुक चाहार्ने हिम्मत गरेकै हुन् ।'अलख निरञ्जन, भिक्षां देही' भन्दै सिदा नमागेर ऐतिहासिक प्रमाण माग्दै हिँडेका योगी नेपालको मौलिक इतिहास र मौलिक संस्कृतिको खोजीमा भौतारिएका थिए । त्यसैले अहिले पनि कतिपय ठाउँमा योगीलाई इतिहासका विद्वान् हिममानव पनि भन्ने गरिन्छ ।
योगी नरहरिनाथलाई विभिन्न आरोप लगाएर पञ्चायत सरकारले विसं. २०३३ साउन १८ गतेदेखि २०३३ माघ १ गतेसम्म केन्द्रीय कारागारमा कैद गरेको थियो । कैदमै रहँदा पनि उनले आध्यात्मिक नेपाल एवं देवदेशो हिमालयः, आध्यात्मिक भारत एवं देवदेश नेपाल, अवतार विभूति स्थल परिचयः, विश्वहिन्दु धर्म सम्मेलन, पशुपतिमतम् (शिवधर्म महाशास्त्रको गद्यानुवाद), अन्योक्ति मुक्तावली, देवता तीर्थमाला र इतिहास प्रकाशका केही भाग रचना गरेका थिए ।

(पोखरेल श्रीबृहत् आध्यात्मिक परिषद्, मृगस्थलीका महासचिव हुन् ।)

योगीको बारेमा प्रेम कैदिले लखेको एक लेख।

प्रेम कैदी
वि.सं.१९७१ को फागुन १७ गते कर्णाली किनारको अछामसँग जोडिएको कालिकोटको लालु गाउँको चाखा भँडारीबाडामा ललितसिंह थापा र गौरादेवीको सुपुत्रको रुपमा जन्मेका योगी नरहरिनाथको नाम बलबीरसिंह थियो । यिनले आफ्न बाबुका साथ ८ वर्षको हुँदा पहिलोचोटी बडिमालिका खेचर कैलाश आदि  तीर्थहरूको यात्रा गर्ने अवसर पाएका थिए । यिनलाई १३ वर्षको उमेरमा गुरु क्षिप्रानाथले जुम्लाको भैरवनाथ मन्दिर हातामा रहेको पाठ्शालामा पढाउने व्यवस्था मिलाएका थिए । एक रात कोठामा अबेलासम्म बत्ती बलेको देखेर निभाउन पुगेका गुरुले  बलबीरसिंहले टुपीमा डोरी बाधेर पढेको देख्दा छक्क परे  । उनलाई लाग्यो बलबीर गुरु गोरखनाथ जस्तै महान सन्त बन्न सक्छ । त्यसैले उनले बलबीरलाई कानचिरेर नरहरिनाथ मात्र नबनाई उनलाई  बनारस  हरिद्वार खन्ना आदि शहरका  राम्रा विद्यालयहरूमा पढाउनुका साथै मद्रासको  संस्कृत विश्वविद्यालयबाट  बी.ए. अनर्स गर्नसम्म सघाए ।

योगीले झण्डै ३ वर्ष तिब्बतदेखि श्रीलंकासम्म र अफगानस्तानदेखि म्यानमारसम्मका विभिन्न मठमन्दिर र अखडाहरूमा सत्संग गर्न पुगे । यसबाट उनले दक्षिण एसियाको समग्र सभ्यता संस्कृति भाषा भूगोल र इतिहास जान्ने अवसर पाए । यस कार्यबाट फर्केर आएपछि उनले इन्दोरको विक्रमादित्य विश्वविद्यालयमा केही समय पुरातत्व सम्बन्धि विशेष अध्ययन पनि गरे । योगीलाई आफ्नो नाथ सम्प्रदायका गुरुहरूले जस्तै धर्म संस्कृति र समाजको नैतिक उत्थानमा लाग्ने इच्छा थियो तर दक्षिण एसियाका जुनठाउँ गएपनि  त्यहाँ जातीय  जागरण  अभियानले उनलाई मोहित पा¥योे ।

दूर हटो रे दुनिया वाले हिन्दुस्तान हमारा है……. यसै नारामा एक कट्टर हिन्दू नाथसम्प्रदायका युवा योगी पूर्णरुपमा आन्दोलित भए । कारागारमा उनी लालबहादुर शास्त्रीजस्ता व्यक्तित्वका साथ कैयौं वर्ष जेल जीवन भोग्न बाध्य भए । अंग्रेजहरूले उग्रक्रान्तिकारी योगी नरहरिनाथलाई कराँची कारागारमा मारेर गन्हाउने लासहरूको बीचमा फालेकोमा उनी पहिलो चोटी बाँचेका  थिए ।  ई.संं १९४७ मा जेल मुक्त भएपछि उनी राजस्थान पुग्दा त्यहाँ रेलका डिब्बा भरेर मुसलमानहरूले मारेर फालेका सयौं लासहरू आउँथे । योगी र उनका मित्रहरूले लगातार तिनीहरूको सद्गत गर्थे  ।

त्यसैबीच महात्मगान्धी र जवाहरलाल नेहरूले इतिहासकार राहुल सांकृत्यायनसँग तीन दिनसम्म मन्सुरीको एक होटेलमा गुप्त रुपमा मन्त्रणा गरेर समग्र दक्षिण एसियामा सँधै दिल्लीले शासन गरेको इतिहास निर्माण गर्ने सहमतिअनुसार पाठ्यसामग्री तयार गरियो । उक्त सामग्री विद्यालयदेखि विश्वविद्यालयसम्म आउँदा कतिपय देशको इतिहास मेटाउने काम भएको पाइयो । हिमालयदेखि समुन्द्रसम्म हिन्दुस्तानमात्र भएको कथित भारतवर्षको पाठ्यक्रमहरू देखेपछि सर्वप्रथम नेपाली विद्यार्थीहरूले विद्रोह गरे । डिल्लीरमण रेग्मीको  नेतृत्वमा वनारस हिन्दू विश्वविद्यालयमा ज्यादै प्रभावशाली आन्दोलन भयो । हिन्दूहरूका लास जलाएर बसेका योगी नरहरिजस्ता नेपाली युवाहरू पनि क्रुद्घ भएर आन्दोलनप्रति कुनै न कुनै रुपमा संलग्न भए । विश्वमा कहिल्यै पराधीन नभएको शिवको राज्य नेपाललाई अरु कुनै देशको अधिनमा रहेको देखाउने कुरा सबै नेपालीहरूका लागि सैह्य हुने कुरै थिएन । त्यसैबीच अंगे्रजहरूको देश टुक्र्याउने खेलमा लागेको आरोप लगाएर नाथुराम गोड्सेले  गान्धीको हत्या गरेपछि पाकिस्तानबाट हिन्दूहरूका लासहरू आउन बन्द भयो । दिल्लीले कथित भरतखण्डे…. को जाली इतिहास बनाएकोमा मनमनै व्यथित योगी नरहरि हरिद्वारमा नुहाएर कैलाशतिर जान हिड्ने तयारी गरिरहेको बेला सन्त क्षिप्रानाथले दिएको जानकारीका आधारमा काठमाडौँबाट बबर सम्शेरले पठाएका व्यक्तिहरूसँग योगीको भेट भयो ।  नेपालको वास्तविक इतिहास विश्वसामु ल्याएर यसको स्वाधीनताको रक्षामा समर्पित हुने योगीको सपनालाई पूरा गर्न नेपालबाट निम्तो आएको जस्तो भयो जसले बोलाए पनि भगवान पशुपतिनाथकै आदेश हो भन्ने ठानेर योगी वि.सं. २००२ मा नेपाल हिडे ।

सर्वप्रथम योगीले गोपाल वंशावली भन्ने बीरपुस्तकालयमा रहेको  हस्तलिखित ग्रन्थबाट नेपालको सानोतिनो इतिहासको जानकारी लिने मौका पाए । त्यसै ग्रन्थमा सिंजा साम्राज्यका अधिपत्ति रीपु मल्लले काठमाडौँमा दुईवर्ष शासन गरेको उल्लेख भएकोले योगी वि.सं. २०१२ मा दुल्लु पुगेर त्यहाँ महाराज पृथ्वी मल्लले स्थापना गराएको कृतिखम्बमा उल्लेखित सिंजाका मल्ल राजाहरूको बंंशावलीका आधारमा पश्चिम नेपालको कुनै कालखण्डको एक विशाल साम्राज्यको इतिहासलाई सार्वजनिक गर्न सफल भए । योगीको ऐतिहासिक अनुसन्धानले अन्तर्राष्टिय रुपमा हलचल मच्चियो । वि.सं. २०१४ मा त इटालीका तिब्बत विशेषज्ञ मानिने इतिहासकार जिसेफ टुची नै सिंजा पुगेर डिस्कभरी अफ मल्लाज जस्ता कृति लेख्न पुगे ।

वि.सं. २०४८ मा योगी नरहरिनाथको बाजुरा र कालिकोट हुँदै जुम्ला भ्रमणका क्रममा शेरढुस्का भन्ने ठाउँमा महाराज पृथ्वी मल्लको एउटा ताम्रपत्र भेटियो । कसैलाई भूमिदान  दिएको उक्त ताम्रपत्रबारे  योगीले त्यहाँ उपस्थित सबैलाई त्यसको विशेषता के पायौँ भनी प्रश्न गरे । उक्त अवसरमा पंक्तिकारलगायतका धेरै विद्वानहरूले आ–आफ्नै पाराले त्यसको वर्णन गरेपनि योगी सन्तुष्ट भएनन् । छलफलको अन्तमायोगीले विशेष प्रवचन दिदै यो ताम्रपत्रको भाषाले नेपाल एक स्वाधीन र सार्वभौमसत्ता सम्पन्न  राष्ट्र थियो भन्ने  प्रमाणित गर्छ  भन्ने दाबी गरे । पछिल्लो समयमा नेपालको शासन जंगबहादुर राणाको समयदेखि मुलुकी ऐनकाआधारमा चल्ने गरेको र त्यो ऐन दिल्लीका शासक अकबरले बनाएको आइने अकबरीका आधारमा बनेकोले नेपाल दिल्लीद्वारा  शासित थियो भन्ने राहुल साँकृत्यायनको तर्कलाई पृथ्वी मल्लको ताम्रपत्रको शुद्घ नेपाली भाषाको प्रयोगले  पूर्णरुपमा खण्डन गर्छ भनी भन्दा सभामा उपस्थित सबैले जिब्रो टोके । बालकृष्ण पोखरेलको पाच सय वर्षहोस अथवा योगीका सन्धिपत्र संग्रहहरूमा संकलित हाम्रा प्राचीन लिखतहरूमा कतैपनि फारसी, उर्दू, अंग्रेजी आदिको कुनै पनि प्रभाव देखिन्न ।  भाषिक शुद्घताले नै  नेपालको स्वाधीनता र स्वतन्त्रतालाई कसैले कहिल्यै चुनौती पनि दिन नसकेको  इतिहासको रचना नै योगी नरहरि नाथको एकमात्रउद्देश्य  थियो ।

लगभग १४ वर्ष हिन्दूस्तानको मुक्तिका लागि क्रियाशील रहेका र सात वर्ष त कराँची जेलमा मात्र विताएका योगी नरहरिनाथ नयाँदिल्ली अथवा वेइजिङले साम्राज्यवादीहरूले जस्तो नेपालमाथि हस्तक्षेप गरेको देख्न चाहन्नथे । तर, नेपालमा दिल्लीले अंग्रेजहरूको औपनिवेशिक नीतिलाई सँधै कायम राख्यो । खासगरी सन् ५० को असमान सन्धि र सुगौली सन्धिमा खोसेको नेपालको ६२ हजार वर्गकिलोमिटर भन्दा बढीको भूभाग हिन्दूस्तानले खाइदिएकोमा उनी धेरै दुःखी थिए । उनले त्यसैले सुगौली सन्धिमा गुमेको नेपालको भू–भागबारे सर्वोच्व अदालतमा फिर्ता लिने माग गरी मुद्दा हालेका थिए । उनलाई हराउने सर्वोेच्चका न्यायधीशलाई दिल्लीले पुरस्कार स्वरुपमा प्रधान न्यायधीश र पछि मन्त्रीपरिषदको अध्यक्ष समेत बनायो ।

५७३ पुस्तक प्रकाशन गर्न सफल भएका योगीले समय र साधन पाएको भए हजारौं पुस्तकको सामग्री संकलन गरेका  थिए । सर्वप्रथम त उनले कोशी जस्ता नेपालको जलसम्पदालाई  विदेशीलाई सित्तै सुम्पने राष्ट्रिय गद्दारीको हदैसम्म भण्डाफोर गरे । लेखेर मात्रै केही नहुने देखेर उनले हिन्दूस्तानका स्वतन्त्रता सेनानी बीर सावरकरले हिन्दूसभा बनाएजस्तै नेपालमा कर्मबीर महामण्डल भन्ने धार्मिक राजनीतिक दल खडा गरे । नेपाली कांग्रेसको सरकारले पहिले कोशी बेचे जस्तै गण्डकीमात्र नबेचेर हिन्दूस्तानको वनस्पती घ्यू डाल्डाजस्ता अस्वस्थकर सामग्रीहरू नेपाली बजारमा आयात गर्ने अनुमति दिएपछि योगीको नेतृत्वमा देशभक्त नेपालीहरू आन्दोलित भए । राजाको दलाल भन्दै योगीलाई मार्नुपर्छ भन्ने निर्णय सरकारले ग¥यो, धादिङ र गोर्खाका हजारौँ जनसमुदायहरूलाई विद्रोहको झण्डा उचाल्न लगाउने योगीलाई मार्न गोर्खामा प्रहरीको टुकडी खटाइयो । योगी भने तीन दिनमा जुम्ला पुग्ये । त्यहाँ पनि उनलाई बन्दीगृहमा मार्ने हल्ला भएपछि हजारौँ जनताले बडाहाकिमको कार्यालय हेरे र रातारात योगीलाई वर्षाको बेला तराईका जंगलमा लगेर हात्तीबाट कुल्चाएर मार्न खोजियो । त्यतिमात्र नभएर उर्लदो भेलमा डुंगाबाट नदीमा खसालियो तैपनि उनी बाँचे । त्यसपछि भैरहवाको एक हिलैहिलो भएको छिडीमा सर्प बिच्छी लाग्ने र लामखुट्टेजस्ता किरा कनसुत्लाले भरिएको अंध्यारो ठाउँमा खानापिना बेगर फालियो । उनको भाग्यले गर्दा देशमा परचक्रीहरूको इसारामा चल्ने भरौटे सरकार वर्खास्त भयो र सौभाग्यले योगी नरहरिनाथ फेरि बाँचे ।

राष्ट्र खोज्दै हिड्दा योगीले शिक्षामा सुधार गरे  सकल सुधार हुन्छ भन्ने नारा दिदै हिंडे । सयांै कोटी होम गरे । सयौँ संस्कृत पाठशाला खोले । त्यतिले उनको चित्त बुझेन । योगीले नेपालको भाषा, साहित्य, संस्कृति, इतिहास सबैलाई प्रमाणका आधारमा खडा गरेर जगत्मा जेठो मानव जातिकै उत्पतिस्थल नेपालको सभ्यतालाई समेट्ने संस्कृत भाषालाई सबै नेपालीलाई पढाउन चाहन्थे । त्यसैले योगीले दाङको बेलझुण्डीमा खडा भएर संस्कृत विश्वविद्यालय निर्माण गर्नका लागि एकचोटी आह्वान गर्दा स्थानिय भूमिपतिहरूले १२ हजार बीघा भूमि प्राप्त भएको थियो । तर, नेपाल दरबारलाई कब्जा गरेर बसेका र फटाहाहरूको बाहुल्य भएको पञ्चमण्डलेहरूले योगीलाई अघि बढ्न रोके, आफ्नो छलछाम र लुटको राज्य तहसनहस हुने डरले त्रस्त थिए । त्यसैले योगीलाई वि.सं. २०३२ सालमा गिरफ्तार गरेर हिरासतमा अनेकथरी यातना दिएर मार्न खोजियो । तर, योगी आफ्नो ब्रह्म शक्तिले बाँचे । योगीका अनन्य भक्त गाेिवन्द काफ्लेले राजमाता रत्नले थाहा पाएर महाराज बीरेन्द्रलाई रिसाएपछि उनले योगीलाई थुनेको त थाहै  छैन भनेर छुटाएको बताउँछन । एक अर्को सूत्रले योगीका चेला धीरेन्द्र ब्रह्मचारीले इन्दिरा गान्धीलाई भनेर योगीलाई छुटाएको पनि बताइन्छ । बालब्रह्मचारी योगीलाई आफ्नो देश बाहेक अरु कुनै स्वार्थ थिएन् । यस्ता व्यक्तिलाई पनि पटक पटक मार्न खोजियो । तर, नेपाली जनता योगीले छोडेर गएको संघर्षशील देशभक्तिपूर्ण परम्परा र उनले निर्माण गरेको इतिहासप्रति सँधै नतमस्तक छन्  ।


स्रोत:- हामीले यहा राखेका सामाग्री सामाजिक सन्जाल, Youtube, Facebook, Google लगायत अन्य स्रोतमा उपलब्ध भएका हुन। छरिएर रहेका सामाग्री यहाँ संकलन मात्र गरिएको हो। हाम्रो उदेश्य नेपाली पाठकलाई पढ्न सजिलो मात्र बनाउनु हो। सनातन चौतारीको उदेश्य प्रचार प्रसार गर्नु मात्र हो। 
 
पुराना तस्विरहरु ।









फेरि योगी नरहरिनाथ 
योगीको बारेमा प्रा.डा.डिल्ली ओलीले लखेको एक लेख।
योगी नरहरिनाथबारे गत दुई शनिबारका अंकमा लेखिएका सामग्री पढ्दा थप केही कुरा लेख्न पंक्तिकारले आवश्यक ठानेको छ । योगी नरहरिनाथको पूर्व चोला क्षेत्री परिवारको भए पनि उनी नाथ परम्पराका विख्यात योगी थिए । कालीकोटको लालुगाउँको एउटा सामान्य बालकमा सामुद्रिक शास्त्रीय गुण देखेर जुम्ला चन्दननाथका महन्त क्षीप्रानाथले उनलाई दीक्षा दिई आफ्नै आ श्रममा राखी उच्च अध्ययनका लागि भारतका विभिन्न ठाउँमा जाने बाटो प्रशस्त गरिदिएका थिए । भारतमा अध्ययन गर्दा उनी विभिन्न शास्त्र, विद्या र विधामा पारंगत मात्र भएनन् हठयोगमा सिद्धि प्राप्त पनि भए ।  औपचारिक रूपमा शास्त्री, वेदालंकार मात्र भए पनि उनी उद्भट विद्वान थिए र उनीसँग सोझो बहस गर्न सक्ने सामथ्र्य ठूला विद्वान भनिनेहरूमा पनि थिएन भनिन्छ । पृथ्वी मल्लको दुल्लु कीर्तिस्तम्बको पूर्ण पाठ गर्न सक्ने योगी मात्रै हुन् । जिसेफ टुचीले अन्तिम दुई हरफको मेसो पाउन सकेको थिएन । उनले कहाँ पढे कहिले पढे तर यस क्षेत्रका सम्पूर्ण लिपिको ज्ञान त्यत्तिकै थियो । 

कर्णाली प्रदेशका तिब्बती लिपी मिश्रित अभिलेखको अरूले भेउ पाउने सामथ्र्य नै थिएन । सम्पूर्ण पूर्वीय साहित्य, लिपि, इतिहास, भूगोल, खनिज, वनस्पति, आयुर्वेद, योग, दर्शन, समाज आदिमा आधिकारिक ज्ञान राख्ने एउटै व्यक्ति सम्भवतः योगी नै थिए । उनी के थिए, के थिए कसैलाई थाहै छैन । डा.जगमान गुरुङले भनेझै नाथ परम्परामा मच्छिन्द्रनाथ, गोरखनाथ, रतननाथ, भगवन्तनाथ पछि नरहरिनाथ नै थिए । यस पंक्तिमा उनको सन्दर्भमा चन्दननाथलाई पनि जोड्दा अतिसयोक्ति हुने छैन । धेरै मानिस उनलाई गोरखनाथको अवतार नै मान्दछन् । भारतमा शंकराचार्य, करपात्री, महेश योगीलगायत विद्धत मण्डलीले योगीलाई गरेका सम्मान र आदरबारे प्रत्यक्ष देख्नेहरूले पंक्तिकारलाई सुनाएका प्रसंग पनि छन् । योगी नयाँ शिक्षा प्रणालीका घोरविरोधी थिए । यो नेपालसापेक्ष हुनै सक्दैन भन्ने उनको अडान थियो । त्यसबेला नयाँ शिक्षाको प्रारुप तयार पार्ने तीनजना व्यक्ति दृश्यमा थिए । तिनलाई उनले इसाई, मुसाई, कसाई भन्थे । तिनको जातीय र धार्मिक पृष्ठभूमि पनि त्यस्तै थियो । आखिर नयाँ शिक्षाको गति पनि योगीले भनेझैं भयो । उनले क्याम्पसलाई घ्याम्पस, डिनलाई हीन भन्दै हिँडेका थिए एक पटक । उनकै प्रयासले नेपालमा र अझ दाङमा संस्कृत विश्वविद्यालय खुल्यो । 

त्यसको केन्द्रीय कार्यालय बेलझुन्डीमा छ । त्यहाँ पहिले डिन कार्यालय थियो । सरकारी नीति, पदाधिकारी चयन, शिक्षण प्रणाली आदिको भविष्यप्रतिको अवस्थाबारे उनी चिन्तित थिए । त्यतिबेलै उनले यो बेलझुन्डी कागझुन्डीमा परिणत हुन्छ भनेका थिए । अहिले करिब करिब अवस्था त्यस्तै छ । त्यही बेलझुन्डीमा एकजना डिनलाई उनले गुरु तपाईंंलाई बाह्रखरी आउँछ कि आउँदैन भनी सोधेर धेरैका सामु लज्जित बनाएको प्रसंग एकपटक दाङमा चर्चामा थियो । एकपटक योगीबारे कुरा गर्दा पं.गंंगाधर शास्त्रीले योगीको धेरै विरोध गरे । उनी आर्य समाजी हुन्, मूर्ति पूजक होइनन् आदि आदि भनेर । अन्त्यमा उनले तर योगी अद्भूत र विलक्षण थिए भनि पंक्तिकारलाई सुनाएका थिए । योगीलाई नजिकबाट हेर्ने अवसर पंक्तिकारलाई २०४५ सालमा दाङको चौघेरामा प्राप्त भएको थियो । त्यहाँ उनले कोटीहोम आयोजना गरेका थिए । पंक्तिकार तीन दिनसम्म त्यहीं बसेर सबै हेर्ने अवसरमा थियो । त्यहाँ काठमाडौंबाट प्रधानमन्त्री मरिचमान सिंह, प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू माधव घिमिरे, धर्मराज थापालगायत त्यही स्तरका अरू पनि धेरै थिए । योगीले प्रधानमन्त्रीलाई देशमा बढेको भ्रष्टाचार, कमिशनतन्त्र यही हवनमा स्वाहा भन्नुहोस् भनी मञ्चबाटै आदेश दिएका थिए । त्यति मात्र होइन प्राज्ञहरूको खानपिनबारे सचेत योगीले होटलको बसाई आदिको कारणले धर्मराज थापालगायतलाई केही विसञ्चो भएको निहुँमा सबै प्राज्ञहरूलाई मञ्चबाट हकारेर के खाने, के नखाने, कति खाने, कसरी खाने आदि कुरा भन्दै उनीहरूलाई जाऔं कि बसौं भन्ने गराएका थिए । पछि माधव घिमिरेले स्पष्टीकरण र योगीको योग्यता, क्षमता र विद्वताबारे महत्ववपूर्ण सम्भाषण गरेका थिए ।

 त्यहाँ दिनभरि योगी मञ्च अथवा माइकमै हुन्थे । साँझ, बिहान र राती अबेरसम्म एउटै आसनमा टुक्रुक्क बसेर दायाँ खुट्टालाई केही खुम्च्याएर लेखेको लेख्यै हुने अरूलाई पनि लेखाइरहने । त्यस बीचमा केहीले वंशावली, केहीले इतिहास, केहीले आयुर्वेद, केहीले शास्त्रीय मान्यता आदि तमाम प्रश्न सोधिरहने, उनी चाहिँ टाउको नउठाएर पूर्ववत् आसनमा सबैको उत्तर पनि दिइरहने, आफूले लेखिरहने, अरूलाई डिक्टेट गरिरहने गरिरहे । उनले कहिले खान्थे, कहिले सुत्थे, कतिखेर शौच गर्थे पत्तै हुँदैनथ्यो । उनलाई भनी ल्याइएका खानेकुरा सबैलाई बाँडी दिने, आफूले नखाने । कसैले पैसा दिन्थे तर पैसा आफूले नछोएर अरूलाई राख्न भन्थे । उनको गोजी र पैसाको बीच कुनै सम्बन्ध छैन भन्थे मान्छेहरू । उनको बोलीमा सिंहनाद थियो त्यही कोटीहोममा १३३ जना पण्डितमध्ये गायत्री मन्त्र शुद्ध उच्चारण गर्न नसकेर १२३ जना पण्डितलाई उनले फेल गराएका थिए । यसरी असफल हुनेमा आचार्य, शास्त्री धेरै थिए । नेपालको हिमाली क्षेत्रमा यति पाइन्छ भनी चर्चामा ल्याउने काम योगीले नै गरे । यससम्बन्धी एउटा पुस्तिका नै प्रकाशित छ । यहाँका इतिहासकारहरु काठमाडौं र वरपर मात्र केन्द्रित रहे । काठमाडौं नै नेपाल हो भन्ने मानसिकता यहाँ रह्यो । उनीहरू यहाँ रहेका अभिलेख, मुन्सीखाना, कौशितोषाखाना, अभिलेखालय, केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय आदिमा सीमित रहे । यहींका ठूला इतिहासकारले पनि उत्खनन् गर्न नसकेका केही सामग्री पनि योगीले प्रकाशमा ल्याएका छन् । यसको दृष्टान्त पृथ्वीनारायण्को दिव्योपदेश हो । धार्मिक वंशावली, धार्मिक क्षेत्रमा यही उपत्यकाभित्र पनि योगी बराबरी काम गरेको कोही भेटिँदैन । अरूको इतिहास आधार द्वितीयक स्रोत पद्धति थियो भने योगीको प्राथमिक । योगीद्वारा दाङमा आयोजित कोटीहोममा काठमाडौंबाट प्रधानमन्त्री मरिचमान सिंह, प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू माधव घिमिरे, धर्मराज थापालगायत त्यही स्तरका अरू पनि धेरै थिए । योगीले प्रधानमन्त्रीलाई देशमा बढेको भ्रष्टाचार, कमिशनतन्त्र यही हवनमा स्वाहा भन्नुहोस् भनी मञ्चबाटै आदेश दिएका थिए । यसको उदाहरण रारातालको चौडाइ, लम्बाइ र गहिराइ मापन थियो । उनले डोरीको माध्यमबाट यसको चौडाइ र लम्बाइ एकिन गरे भने गहिराइ मापन बाँस जोडेर गरेका थिए । यसका तमाम उदाहरण छन् । योगीले नेपाल चिनेका, जानेका थिए । काठमाडौं मात्र नेपाल होइन भन्ने उनको मान्यता थियो । देशको समग्र भूगोल, इतिहास, जाति, समाज, वनस्पति, नदी, खनिज, पर्वत शृंखला, पर्वत श्रेणी, जमिन आदिको सूक्ष्म अध्ययन गर्ने पैदल यात्री, अनुसन्धानकर्ता, योगी नै थिए । उनी नपुगेको ठाउँ सायद कम थियो । मेची महाकाली, हिमाल तराई सबैलाई चिनेका, सबैले चिनेका उनी मात्र थिए । उनले जति संकलन, प्रकाशित गर्ने व्यक्ति अर्को जन्मिएन । यसबारे अभिनन्दन ग्रन्थ (२०५४) र स्मारिकामा (२०७२) चर्चा भएको छ ।

 ओलाङचुङगोलादेखि टिंकर व्यासगर्खासम्म, मानसरोवरदेखि मुक्तिनाथ, लुम्बिनी, जनकपुरसम्म, शासकवर्गदेखि राउटे, कुसुन्डासम्म, लामादेखि झाँक्रीसम्म, वोनदेखि आधुनिक मतसम्म देवस्थलदेखि मसानघाटसम्म, धिमाल, राजवंशीदेखि सौका र राना थारूसम्म उनको समान उपस्थिति थियो । यसरी योगीसँग कसैको तुलना हुन सक्दैन । फेरि पनि काठमाडौं र त्यस वरपरको अध्ययन मात्र नेपालको अध्ययन होइन । योगीले नेपालमा जिम्मावाल, पटवारी, तालुकदार, उमरा, चौधरी, मुखिया, जेठाबुढा, घाटबुढा, रजौटा, जैशी, पण्डित, कोट, मौला, थुम, दाही, गढी, गौडा, देउराली, घाट, थुम्का, किल्ला, देवस्थल, भग्नावशेष, वस्ती, समाज, खोलानाला आदि ठाउँ, व्यक्ति, तिनका सन्तान आदिका घरघर गएर सामग्री संकलन र प्रकाशित गर्ने काम गरे । उपत्यका बाहिरको बारे अहिले जे लेखिएका छन उनैलाई आधार बनाएर लेखिएका छन् । यस अर्थमा योगी अतुलनीय हुन् । योगीको सम्बन्धमा हालसम्म बाहिर नआएको एउटा घटना सान्दर्भिक भएकोले यहाँ उल्लेख गर्नु आवश्यक छ । राजा र नयाँ शिक्षाको विरोधको कारणले जेल र यातनापछि योगी भारततिर पलायन भए । करिब २०३५ सालतिर उनी दिल्लीको मोतीनगरमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने अभियानमा थिए । उनको काम मोतीनगरमा र बसाई तुग्लगावादको शिव मन्दिरमा थियो । एकदिन छलफलको क्रममा मोतीनगरमा रात पर्‍यो । उनका साथमा मित्रनाथ योगी भन्ने एकजना कन्फट्टा योगी पनि थिए, उनी नेपाली थिए । साँझमा साधन पनि नभएको र तुग्लगावाद पुग्न समय लाग्ने भएकोले मित्रनाथले मोतीनगरमै बस्न धेरै आग्रह गर्दा पनि योगीले शिव मन्दिरमै जाने अठोट गरे । उनी हिँड्न थाले मित्रनाथ पनि पछिपछि लागे । मित्रनाथले अझै अनुनय विनय गर्न छोडेका थिएनन् । 

हिँड्न थालेका योगीले उनलाई ‘आँख बन्द करो' भनेर ठूलो स्वरमा गर्जेपछि मित्रनाथले त्यसै गरे । केही सेकेन्डमै आँखा खोल्दा दुवैजना शिव मन्दिरमा पुगिसकेका थिए । यो अपत्यारिलो घटना भए पनि मित्रनाथ यसका साक्षी हुन् । यस घटनाबारे दाङ चौघेराका एकजना योगीले पंक्तिकारलाई बताएका हुन् । हाल उनी चौघेरामै छन् । पद्मप्रसाद भट्टराईले भने जस्तै कुनै मन्त्रको सिद्धि गरेको होला, गंगाधर शास्त्रीले भनेझै अद्भूत र विलक्षण, पृथ्वीराजमार्ग नबन्दै पुस २७ गते बिहान गोरखाबाट हिँडेर दिउँसो काठमाडौं खरिको बोटमा पृथ्वी जयन्ती मनाउन आइपुग्ने, ४८ घन्टा नपुग्दै २०१७ सालमा गोरखा काण्डपछि त्यहाँबाट जुम्ला पुग्ने, योगी हिँड्दैनन् उड्छन् भन्ने पश्चिम नेपालमा गाउँलेको भनाइ सायद हठयोगबाट सिद्धि प्राप्त खेचरी मुद्रा नै थियो । —ओली त्रिवि नेपाली, इतिहास, संस्कृति र पुरातत्व विभागमा आवद्ध छन् ।

स्रोत:-  ०५ साउन २०७४ ०८:५७ मा अन्न पूर्णमा प्रकाशित
https://annapurnapost.com/news/75690-75690


योगीको बारेमा डा. जगमान गुरुङले लखेको एक लेख।

एक विभूतिको सम्झनामा

डा. जगमान गुरुङ योगी नरहरिनाथ नेपालका सपूत र सिद्ध गोरखनाथका अवतार हुन् । सिद्ध मत्स्येन्द्रनाथबाट नाथ सम्प्रदायको प्रवर्तन भएको हो । सिद्ध गोरखनाथले नाथ सम्प्रदायलाई व्यापक बनाइदिए । यसैगरी सिद्ध रतननाथले नाथ सम्प्रदायलाई अन्तर्राष्ट्रियकरण गरिदिए । सिद्ध मत्स्येन्द्रनाथको जन्म कामरूपदेश असमको मछुवाकुलमा भएको हो । कामरूपदेश सिद्ध मत्स्येन्द्रनाथको जन्मभूमि भएतापनि नेपाल उनको कर्मभूमि हो । नेपालका बौद्धहरू सिद्ध मत्स्येन्द्रनाथलाई पद्मपाणि बोधिसत्व र शैवहरू उनलाई शिवका रूपमा मान्छन् ।

सिद्ध गोरखनाथ र सिद्ध रतननाथ दुवै नेपाल माताका वरद पुत्रहरू हुन् । नेपाल गोरखाको गोरखनाथ गुफामा सिद्ध गोरखनाथको साधना स्थल हो । नेपालको गोरखाबाट नै सिद्ध गोरखनाथ भारतका विभिन्न क्षेत्रमा गएका हुन् । अहिले पनि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघेसंक्रान्तिका दिन खिचडी चढाउँदा सबभन्दा पहिले नेपालको गोरखा दरबारबाट लगिएको खिचडी चढाएपछि मात्र गोरखनाथ मन्दिरका महन्त र त्यसपछि अरू भक्तजनले खिचडी चढाउने परम्परा छ । गोरखाको गोरखनाथ गुफा वज्रभैरवभट्टारकको पुण्यस्थल हो । गोरखनाथ गुफा परिसरमा लिच्छविकालका प्राचीन बौद्ध चैत्यहरू भेटिएका छन् । यसले गर्दा वज्रयानी बौद्ध मत र नाथ सम्प्रदायको बीचमा अन्तरसम्बन्ध रहेको पाइन्छ ।

सिद्ध रतननाथपछि सिद्ध भगवन्तनाथ नाथ सम्प्रदायका ठूला योगी भए । आधुनिक नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह सिद्ध भगवन्तनाथलाई गुरु मान्दथे । सिद्ध भगवन्तनाथ पछि योगी नरहरिनाथ सम्प्रदायका ठूला योगी भए । पश्चिम नेपालको कालीकोटमा थापा क्षेत्री वंशमा जन्मिएका बलवीरसिंह थापा योगी नरहरिनाथको रूपमा प्रसिद्ध भए । उनको शिक्षा-दीक्षा भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा भएको थियो । नेपाल मृगस्थली गोरक्षपीठका महन्त क्षिप्रनाथ योगीको आग्रहमा योगी नरहरिनाथ नेपाल आए तर उनले गोरक्षपीठको मण्डलाई चलाएनन् । हिन्दुधर्म, नेपाली भाषा र नेपाल राष्ट्रको सेवामा नै उनी तल्लीन रहे । योगी नरहरिनाथ धार्मिक राजनीतिमा लागे तर उनलाई आर्थिक भ्रष्टाचार र शारीरिक व्यभिचारले छुन सकेन ।

योगी नरहरिनाथ केवल विचारकमात्र नभई सिद्ध योगी थिए । राजा महेन्द्रले २०१७ पुस १ गतेको कदम चाल्नुभन्दा अघि गोरखामा एउटा काण्ड घटाएको थियो । त्यस गोरखा काण्डका अग्रणी योगी नरहरिनाथ थिए । घटना घटेको दिन योगी नरहरिनाथ गोरखामा नै थिए । गोरखामा बडा हाकिमले योगी नरहरिनाथलाई पक्रन खोज्दा पक्रन सकेन । गोरखामा घटना घटेको पर्सिपल्ट योगी नरहरिनाथ जुम्लामा पक्राउ परे । त्यसबेला हेलिकप्टर आदि कुनै साधनको सुविधा थिएन । तीन दिनमा जुम्ला पुग्न असम्भव थियो । नाथ सम्प्रदायका अनेक विशेषतामध्ये हठयोग प्रमुख छ । अतः यही हठयोगको खेचरीमुद्रा साधन गरेर योगी नरहरिनाथ तीन दिनमा गोरखाबाट जुम्ला पुगे । यो नै योगी नरहरिनाथको योगचर्याको एउटा ज्वलन्त उदाहरण हो ।

त्यसकारण योगी नरहरिनाथ बहुमुखी प्रतिभाका धनी र नेपालको जिउँदो शार्दूल हुन् । योगी नरहरिनाथ इतिहासका लागि शोधकर्ता, धर्मका लागि प्रणेता र राजनीतिका लागि प्रेरणाका स्रोत हुन् । उनले हामीहरूलाई आफ्नो इतिहासका बारेमा जागरुक गराएका छन् । अनेकन् कष्ट सहेर नेपालका विविध क्षेत्रको अध्ययन-भ्रमण गरी बिर्सिसकेका हाम्रा गौरवगाथालाई प्रकाशमा ल्याइदिएका छन् ।प्रखर राष्ट्रवाद र समन्वयात्मक हिन्दुत्व उनको चिन्तनका दुई पक्ष हुन् । राष्ट्र, राष्ट्रियता र हिन्दुत्वबाहेक योगी नरहरिनाथको आफ्नो कुनै निजी स्वार्थ भन्ने कुरा नै केही थिएन ।

वेदका कतिपय ऋचाहरूको रचनामा महिला वर्गको पनि योगदान रहेको छ तापनि कालान्तरमा स्त्री जातिलाई वेदमन्त्रको उच्चारण गर्ने हकबाट वञ्चित गराइयो । तर, योगी नरहरिनाथले कोटिहोमजस्तो महान् यज्ञमा महिलाहरूलाई गायत्री जपेर हवन गर्ने कार्यमा अग्रसर गराए । यसैगरी लामाहरूलाई कोटिहोममा बौद्धमतअनुसार पूजा, पाठ र हवन गर्ने कार्यमा सरिक गराए । यी कुराहरू उनका उदात्त एवम् समन्वयात्मक भावनाका नमुना हुन् ।

उनी सधैं सबल एवम् सक्रिय राजतन्त्रको पक्षमा देखिए । तर, उनको निःस्वार्थ भावना र प्रखर वाणीको मर्म बुझ्न र पचाउन नसकेकाले बेलाबखतमा उनी शासनसत्ताको चपेटामा पर्ने गर्थे; आलोचित र अपमानित पनि बन्ने गर्थे । साँच्चै भन्ने हो भने उनको जीवन ज्यादै नै संघर्षमय थियो । उनले अर्कालाई दिनबाहेक आफूले लिन केही पनि जानेनन् । दुःख जति आफूले पचाएर सुख जति सबै अरूलाई भोग्न दिने भगवान् शंकरको आदर्श उनको चरित्रमा पाइन्छ ।

उनी साँच्चैका योगी थिए । त्यसैले मान र अपमानको समतलबाट माथि उठेका अनन्त श्रीविभूषित योगी नरहरिनाथ जिउँदा शार्दूलझैं आफ्नो कर्तव्यपथमा निरन्तर अघि लम्किरहन्थे, राष्ट्रको सिंहावलोकन गर्थे, किनभने उनी फट्याङ्ग्रा टिपेर खाने लुते बाघ थिएनन् । उनको जीवन चरित्रबाट मनुस्मृतिको यो सदुक्ति चरितार्थ हुन्छ, जस्तै -
एतद्देशप्रसूतस्य सकासाद् अग्रजन्मनः ।
स्वं स्वं कार्यं शिक्षेरन् पृथव्यां सर्व मानवाः ।।
अतः यस्ता महान् विभूति अनन्त श्रीविभूषित योगी नरहरिनाथको चरित्रबाट समष्टिमा हामीले सिक्नुपर्ने दुईवटा पाठ छन्, ती हुन्- राष्ट्रको गौरव र स्वाभिमान ।

स्रोत :- ०३ असार २०७४ ०८:१४ अन्नपूर्ण पोष्टमा प्रकाशित 
https://annapurnapost.com/news/73395-73395

योगीको बारेमा सौरभले लेखेको एक लेख।

पहिलो:- धेरै हस्तलिखित पुस्तक र ऐतिहासिक अभिलेख जम्मा गरेका थिए, मृगस्थली गोरखनाथ मठमा योगी नरहरिनाथले । गोर्खाकाण्ड गराएको अभियोगमा सबै झोली तुमडी जलायो, जोगीका मृगस्थलीको प्रांगणमा तत्कालीन सरकारले । तीन दिनसम्म कुइँरीमण्डल भयो, योगीले जम्मा गरेका थोत्रा कागजको आहुति गर्दा । मानिसको रिस कागजपत्रमा पोख्यो प्रहरीले पनि । यी राष्ट्रिय निधि हुन् भन्ने ज्ञानै आएन कसैलाई । नरहरिनाथलाई हटाएर आफू भाले हुने दाउमा थिए, उनका आलाकाँचा र अनपढ कांग्रेसी चेलाहरू (पेज २९५-२९९, शर्मा, २०५४) ।

विसं २०१५ सालमा सरकारद्वारा प्रहरी खटाएर आगो लगाइयो, जसका कारण हप्ता दिनसम्म पनि मृगस्थली क्षेत्रमा धुवाँको राग गन्हाइरहेको थियो भनिन्छ (पेज ४, बृहत् आध्यात्मिक परिषद्को पुस्तिका) ।

दोस्रो मैले संकलन गरे तापनि प्रकाशन गर्ने काम सरकारले गर्नुपर्छ भनेर योगीले सरकारलाई बुझाएका कागजातहरू पनि विसं २०३० सालको सिंहदरबार आगलागीमा खरानी भएको सुनिन्छ (पेज ४÷५ ऐजन) ।
२०२१ सालमा एउटा लेखोटको भूमिकामा योगीले लेखेका रहेछन्-'पच्चीस वर्षदेखि संकलन गरेका ऐतिहासिक सामग्रीहरूको संख्या पन्ध्रदेखि बीस हजार पुगेको छ ।'
अर्थात् सरकारले प्रकाशन नगरिदिएर थन्क्याइदिएकाले सिंहदरबार जल्दा पनि योगीले संकलन गरेका बीसौं हजार दस्तावेज जले ।

तेस्रो
योगी समाधीस्थ भएको तेस्रो दिन १५ फागुन २०५९ मा गुठी संस्थानले सुरक्षाका नाममा उनको पुस्तकालयमा ताल्चा मारिदियो । कत्ति आग्रह गर्दा पनि सामग्री हस्तान्तरण गर्न गुठी संस्थान अनुदार रह्यो ।१५ चैत २०७२ को हुरीले छाना उडाएर पानी पनि बर्सिन थालेपछि १७ गते खोल्दा ८० प्रतिशत सामग्री नष्ट भइसकेको रहेछ (पेज २, बृहत् आध्यात्मिक परिषद्को पुस्तिका) ।

स्रोत भन्छ-'नष्ट भएको ८० प्रतिशतमा तीन सयवटा पुस्तकका पाण्डुलिपिहरू पनि परेका छन् ।' मृगस्थलीका सहयोगीहरू भन्छन्-'गुठी संस्थानका कर्मचारीहरूले दस्तावेज बचाउन ताल्चा मारेको लाग्दैन । एकमुखे रुद्राक्ष, मणि, स्यालको सिङ यस्तै तिलस्मी कुराहरू होलान् भनेर हात पार्ने ध्येयले त्यस्तो गरेको लाग्छ ।'

स्मरणीय छ, २०१५ सालमा योगीको योगदानमाथि कुठाराघात हुँदा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री थिए । २०५९ साल फागुनमा कुठाराघात हुँदा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए ।ईशापूर्व तेस्रो शताब्दीमा चीनका सम्राट सि. हुवाङ् तीले जलाएको राष्ट्रिय पुस्तकालय, ईशाको छैटौं शताब्दीमा खलिफा उमारले जलाएको अलेक्जेन्ड्रियाको पुस्तकालय र सन् १२०० मा बख्तियार खिल्जीले जलाएको नालन्दा विश्वविद्यालयको पुस्तकालय- तीनवटै मिसाएर विश्वलाई जति क्षति भयो, नेपालका मामलामा त्यही बराबरको क्षति भयो- एउटै योगी नरहरिनाथको अतुलनीय, अकल्पनीय संकलनहरू राजकीय स्तरमै ध्वस्त पारेर ।

तीन ग्रन्थ
नेपाल महात्म्यलाई फेला पारी प्रकाशित गरे योगी नरहरिनाथले तर यसमा दुइटा ठूला रडाको मच्चिए । यसलाई भारतीयहरूले स्वीकार्न चाहेनन् । अर्को कुरा, पश्चिमाहरू यो नवौं शताब्दीको हो भनेर मान्न तयार भएनन् । ब्रिङ्कहाउसजस्ता जर्मनहरू सत्रौं शताब्दीकै हो भन्नमै उद्यत् रहे ।

खासगरी काठमाडौं उपत्यकाको तत्कालीन प्राकृतिक सौन्दर्य चेतनालाई मुखरित गर्ने यो ग्रन्थ पढेकै होलान् कुनु शर्माले पछिल्लोकालमा र नै पाटन जिल्लाको सौन्दर्य चेतलाई'कृतिपताका'मा मुखरित गर्न पुगे भन्ने एउटा बलियो अनुमान गर्न सकिन्छ ।

यसबापत ठूलै मूल्य चुकाउनुपर्‍यो योगीलाई । पञ्चायत सरकारले अर्कै प्रसंगमा भए पनि कोपदृष्टि राखेपछि उनी गोरखपुरको आ श्रममा पाहुना लाग्न गए । भनिन्छ, तर त्यहाँ उनलाई तीन महिनासम्म बन्दीजस्तै बनाए मठाधीश अवैद्यनाथले । त्यो अवधिमा ब्लेडले छाला चिरेर नुनचुक लगाइयो । अरू केहीका भनाइमा मलद्वारमा खुर्सानीको धुलो भरियो ।

नेपाल र नेपाली सिर्जनालाई स्वीकार नगर्ने प्रवृत्ति दक्षिणमा यत्रतत्र छ नै । नारद स्मृतिकार नारदलाई कसैले नेपालको हो, कसैले मध्यप्रदेशको हो भन्छन् । तर, यो सबै कल्पना हो । भारतका प्रसिद्ध विद्वान् काँडेले जानाजान लेखेकै छन् (पेज ५६, खण्ड १), त्यसो भए कहाँको हो चाहिँ उनी भन्न सक्दैनन् ।
नभन्दै योगीले सार्वजनिक र प्रतिष्ठित गर्दै लगेको हिमवत् खण्डलाई आज पनि भारतका आधिकारिक प्रकाशकले स्कन्ध पुराणमा समावेश गर्दैनन् ।

यी दुई ग्रन्थले उनी सीमापारिको आँखामा ठूलै कसिंगर हुन पुगे । यसै पनि दिग्विजयनाथले एउटा विधर्मी चिहानरूपी चौरलाई घेरेर फगत रुखलाई गोरखनाथको जन्मस्थल दाबी गरेको कुरालाई नेपालको गोरखनाथ मत मान्न तयार थिएन, गोर्खाको गोरखनाथ गुफालाई छाडेर ।तेस्रो ग्रन्थ जसले उनलाई बाबुराम आचार्यबराबरको अर्को ठूलो इतिहासकारको रूपमा स्थापित गरिदियो । त्यो इतिहास प्रकाशमा सन्धिपत्र संग्रह हो ।

बाबुराम बराबरको ठूलो मानिनुको कारण छ । अनेक विवादले घेरिएको भए पनि बाबुरामलिखित पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा आफैंले अवलोकन गरेर होस् वा सैनिक विज्ञहरूमार्फत अनुसन्धान गरेर होस्, युद्धमोर्चा, इलाका र द्वन्द्वग्रस्त क्षेत्रको भौतिक भूगोल (फिजिकल जिओग्राफी) माथि इतिहासकारको जुन पकड देखिन्छ, त्यो अद्भुत नै छ ।

त्यसैगरी शिखरिणी यात्रा आफैंमा दृश्यकथा (कमिक्स) जस्तो मात्रै लागे पनि योगी नरहरिनाथले उपत्यकामा सीमित नरहेर तिथि र मितिका पूर्णतावादी प्राविधिकतामा नथन्किएर पूरै नेपालमात्र होइन, हिजोको बृहत् नेपालसम्मका कुनाकुनासम्मको विचरण गरे दस्तावेज संकलनका निम्ति । त्यसले आजको नेपाल जे जस्तो छ त्यसलाई जोड्न अभूतपूर्व योगदान दिएको छ । त्यतिमात्र होइन, नेपालमाथिको नेपाली कोण नै व्यापक विस्तारित गरिदिएको छ ।इतिहासलाई भूगोलसँग बाँध्ने आयामका मामलामा बाबुराम र योगी नरहरिनाथ दुवैको भिजन व्यापक देखिन्छ ।

तीन कोण

पहिलो
आफ्नो छाताको दण्डा आफैंले समात्नुपर्छ भनेर वीरेन्द्रलाई हकार्दा कोपभाजनमा परेका थिए पछिल्लोपटक- योगी नरहरिनाथ ।अघिल्लोपटक राणा व्यवस्थाका पुरातनवादीहरू र महेन्द्र स्वयंको उपयोगितावादी नीतिमा फस्न पुगेर नेपाली कांग्रेसको कोपभाजनमा परेको घटना थियो यो । यही कोपकालमा उनी गोरखपुर पुगेका थिए भनिन्छ ।

अर्थात् योगी प्रबल राजनीतिक चेत भएका, मार्गदर्शकको क्षमता भएका र तीव्र समयचेतका नमुना थिए । फगत गेरुवस्त्रधारी थिएनन्, भाङ खानलाई वा मोक्षका बकम्फुस आलाप सुनाइरहनलाई उनी योगी भएकै थिएनन् ।

दोस्रो
अचेल गुढ शत्रुद्वारा चलाइएको परिवार नियोजन मानवजीवनका लागि हानिकारक छ, गोर्खा जातिले यो गर्नुहुन्न । नौ करोडमात्र गोर्खाले परिवार नियोजन गर्ने कुचेष्टा हो । परचक्रीले सिमाना च्यापेर आयो भने जम्लाहात गरेर देश सुम्पिदिन्छ । गुलाम भएर सलाम गरिदिन्छ । घरैमा परायाको नोकर भएर बस्छ (पेज २२, जय गोर्खा, २०४८) ।

योगीले यो र यस्ता अनगिन्ती वाक्य लेखे, जति बेला नेपाल परिवार नियोजन संघको संरक्षण दरबारले नै गर्दै आएको थियो । प्रेक्षा नै परिवार नियोजन संघको करिब-करिब हर्ताकर्ता थिइन् ।

तेस्रो
गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, लामा, तामाङ, थकाली, थारु, दुरा, सन्थाल, कोचे, मेचे, धिमाल, मैथिल, भोजपुरी, सतार, राजी, नेवार, सुनुवार, दनुवार, हायु, मुर्मी, कुशहरि, पहरी, थाक्से, राउटे, कसुण्डा ... ल्याप्चे, कोचे, मेचे, धिम्चा, खम्पा, घर्ती, खटाला आदि सबै गोर्खाहरू एउटै बाबुआमाका छोराछोरी हुन् । कामले भिन्न हुँदैमा जात भिन्न हुन्न, हुइयाँको हुरी चल्दैमा हिमाल हल्लँदैन, भाइ फुट गवाँर लुट गर्नुहुन्न (पेज २६, ऐजन) ।
योगीले यो पनि २०४८ सालमै लेखिसकेका छन् । २०५२ बाट माओवादीले जातीय फुटको थालनी गराउनु पाँच वर्षअघि नै उनले भविष्यको आकलन गरिसकेका छन् । नागा, गाह्रो र मिस्मीसम्म लेखेर नेपाल भनेको पूर्व-पश्चिम हिमालय सबै हो समेत भन्न पुग्छन् उनी घुमाउरो भाषामा ।

पुछारमा

सर्प, बाघ र जोगी एकै ठाउँ बस्दैनन् भन्ने प्रख्यात भनाइ छ । यो उनका सम्बन्धमा पूरै लागू त भयो नै, त्यसो हुँदाहुँदै पनि योगीले नेपालमा एउटा अघोषित खुला विश्वविद्यालय खोले । स्वभावले नै आफैं कुलपति पनि भए र सयौं होम र कोटीहोमको नाममा हजारौं समितिका रूपमा दीक्षान्त समारोह आयोजना गरे । फलस्वरूप यति बेला नेपालभरि नै उनका लाखौं भक्त, अनुरागी, अनुयायी छन् । अपरिचित पात्रबीचको भेटलाई प्रगाढ बनाउन उनको नामको दुईतर्फी उच्चारण मात्रै भए पुग्छ, अहिलेको नेपाली समाजमा पनि । यस्तो उचाइ विश्वेश्वरप्रसाद कोइराला न टंकप्रसाद, न मदन भण्डारी न पुष्पलाल कसैको नामले पाएकै छैन ।

व्यक्तिगत चुकचुक

२०५५ सालतिर पंक्तिकार उनलाई भेट्न पुगेको थियो । तर, १५ मिनेटसम्म औपचारिकतामै बित्यो । उनी बिते, प्रसंग पुरानो भयो । २०६८ सालतिर कसैले पंक्तिकारलाई भन्यो-'तपाईंको भेटघाट, उठबस भयो कि भएन योगीसँग ? तपाईंको नाम दुई÷चारपल्ट लिएको सुनेको थिएँ, पढ्दा रहेछन् तपाईंले लेखेको ।' पंक्तिकारले भन्यो-'भेटेको थिएँ तर खास कुरा गरेनन् ।' उनले सोधे-'किन आफ्नो नाम भन्नुभएन ?' पंक्तिकारले आफ्नो औपचारिक नाम बताएको सुनाएपछि उनले भने-'धत्तेरिका, कुरा बिगार्नुभएछ । त्यो नामले योगीले के चिनून् र कुरा गरून् । लेख्ने एउटा भन्ने अर्को ?'

पंक्तिकारलाई अहिले पनि साह्रै चुकचुक लाग्छ । राम्रैसँग परिचय हुन पाएको भए अरू तीनचार वर्षमा योगीरूपी एउटा बृहत् पुस्तकालय पढ्न पाइने थियो ।

स्रोत:
०३ असार २०७४ ०८:४३ अन्नपूर्ण पोष्टमा प्रकाशित
 
 https://annapurnapost.com/news/73396-73396

#sanatanChautari #Sanatan #Chautari #सनातनचौतारी #सनातन #चौतारी । #सनातनहिन्दु @sanatanchautari #मौलिक #रैथाने

No comments:

Post a Comment