पूर्णीमा वर्ष १ देखि वर्ष १२५ सम्मका सबै १०० अङ्क हेर्नुहोस : संसोधन मण्डल

गोविन्द न्यौपाने:-  शासनकालको नेपाल ज्ञान–विज्ञानका दृष्टिले अँध्यारो युगमा थियो। एकातिर शिक्षाको क्षेत्रमा नेपाल पछाडि थियो भने अर्कातिर राणाहरूको विलासी शैली र भारतलाई शासन गरिरहेको अंग्रेजपरस्त नीतिका कारण मुलुकको भविष्य नरहेकाले परिवर्तन आवश्यक रहेको त्यसवेलाका पढे–लेखेका युवाहरूमा सोच थियो। सचेत युवाहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा राणा विरोधी अभियानमा लागिसकेका थिए। भारतमा अंग्रेज शासन ढले पनि नेपालीलाई अर्को औपनिवेशिक शक्तिले खाने खतरा थियो। किनकि औपनिवेशिकताको बीजारोपण भारतीयहरूले अंग्रेजबाट सिकिसकेका थिए। आफ्नोपन जोगाउन सकिएन भने विदेशी शक्तिले नेपाललाई कहिल्यै उठ्न नसक्ने बनाउँछ भन्ने सोच शिक्षित युवाहरूमा थियो। परिवर्तनको आकांक्षी र स्वपहिचान खोज्ने तिनै युवामध्ये एक थिए नयराज पन्त, जो इतिहास संशोधन मण्डलका संस्थापक र इतिहास लेखनका हस्ती थिए।
पूर्णिमाका सम्पुर्ण भागहरु तल हेर्नुहोस। 

निहित स्वार्थ र आग्रह

पूर्वाग्रहका कारण विदेशीहरूले लेखेको नेपालको इतिहास त्रुटिपूर्ण र भ्रामक भएकाले त्यस्तो इतिहास पढाएर विद्यार्थी र देशको भविष्य बर्बाद पार्न हुँदैन भन्ने मान्यता पन्तको थियो। उनी विदेशीको आँखाबाट हेरिएको इतिहास र बौद्धिक परनिर्भरताको विपक्षमा थिए। यसैले वि.सं. १९९५ मा भारतको बनारसबाट औपचारिक पढाइ पूरा गरेर काठमाडौं फर्किएपछि उनले गुरुकुलीय संस्कृत पाठशाला स्थापना गरे।

पाठशालाको उद्देश्य कमलप्रकाश मल्लले भने झैं कर्मकाण्डी पण्डित र भाग्यवादी ज्योतिषीको उत्पादन गर्नु नभई इतिहास र दर्शनको जरोकिलो बुझेर प्रामाणिक इतिहास लेख्न सक्ने योग्य व्यक्ति तयार पार्नु थियो। 

चल्तीको विश्वविद्यालयमा जस्तो औपचारिक प्रमाणपत्र हासिल गर्ने यो शिक्षाको औपचारिक केन्द्र थिएन। तर, यस पाठशालाबाट आठवर्षे पाठ्यक्रम पूरा गरेपछि विद्यार्थी पारंगत भएर निस्किन्थे। हुन पनि, अनौपचारिक र गुरुकुलीय परम्परामा आधारित भए पनि यसै पाठशालाबाट उत्पादित विद्यार्थीले नेपालको इतिहास लेखनमा विशेष या कुलीय परम्पराबाट अध्यापन हुने यस संस्कृत पाठशालाको पढाइ निकै अनुशासित र मर्यादित थियो।

पाठशालाको शुरुआती चरणमा झण्डै ४० जना विद्यार्थीले अध्ययन गरेको इतिहास छ। संस्कृत भाषाको साथै प्राचीन लिपि, अभिलेख, अभिलेख उतार गर्ने विधि, ज्योतिष, गणित आदि विषयको पढाइ हुन्थ्यो। इतिहासको अध्ययन र अनुसन्धानमा प्राचीन लिपि तथा भाषाको ज्ञान महत्वपूर्ण औजार हो। पाठशालाको पठनपाठन यति कठोर र नियमबद्ध थियो, विद्यार्थी केही वर्षमै उल्लिखित विधामा पारङ्गत भएर अभिलेख खोज्ने, लिप्यन्तर तथा भाषान्तर गर्ने, तुलनात्मक अध्ययन गर्ने र प्रकाशन कार्यमा समेत लागिसकेका थिए।

कठोर प्रतिज्ञाका साथ अध्ययन गरे–गराएकै कारण यहाँबाट उत्पादित विद्यार्थी नेपालको इतिहासको अन्वेषण र अनुसन्धानमा सफल भएको देखिन्छ। पछि, यसै पाठशालामा पढेका २१ जना विद्यार्थीको समूहले वि.सं. २००९ मा इतिहास संशोधन मण्डलको स्थापना गरी इतिहास संशोधनको कार्य शुरू गर्‍यो।  

नयराज पन्तबाट सञ्चालित यस समूहले धेरै अभिलेख प्रकाशित गर्‍यो। यस समूहमा नयराज पन्तसहित धनवज्र बज्राचार्य, ज्ञानमणि नेपाल, भोलानाथ पौडेल लगायत विद्यार्थी थिए। कुनै कारण यस समूहका विद्यार्थी सदस्य घटेर पनि बाँकी आठजना इतिहासका संशोधक सदस्यहरूले वि.सं. २०१८ मा संशोधन मण्डल स्थापना गरे, जसले हरेक तीन महीनामा अभिलेख संग्रह प्रकाशन गर्न थाल्यो।

२०२१ सालमा यसलाई परिमार्जन गरी अभिलेख संग्रहको ठाउँमा इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमाको प्रकाशन शुरू भयो, यसको सम्पादन मण्डलमा गौतमवज्र बज्राचार्य, महेशराज पन्तसहित ९ जनाको समूह रहेको देखिन्छ।

तात्कालिक विद्वत्वृत्तमा संशोधन मण्डलको साख र गरिमा निकै उच्च थियो। त्यसमा अद्यापि गिरावट आएको छैन। तर कठिन साधना, प्रकाशनको लागि व्यक्तिगत खर्च गर्नुपर्ने र संस्था एवम् विद्यार्थीको समेत आम्दानीमा कमी हुँदा यस संस्थाका सदस्यहरूले राजीनामा दिंदै गएको देखिन्छ।

नयराज पन्तको मातहतमा रहेका ९ जना सदस्यमध्ये पूर्णिमा पत्रिकाको ६ अंक प्रकाशित भएपछि एक जना, १० अंक प्रकाशित भएपछि अर्को एक जना, २० अंक प्रकाशित भएपछि फेरि अर्को एक जना र २४ अंक प्रकाशित भएपछि धनवज्र बज्राचार्य सहितका दुई जनाले संस्था त्याग गरे। वि. सं २०४० र वि.सं २०५६ मा अन्य दुई सदस्यको मृत्यु भएपछि भने यस संस्थामा महेशराज पन्त र दिनेशराज पन्तले संशोधन मण्डलको विरासतलाई वहन गरिरहेका छन्।

राज्य वा राज्य मातहतका निकायले गर्नुपर्ने इतिहास लेखनको काम मात्र दुई जनाले गर्नु निकै चुनौतीपूर्ण कार्य हो। लाभ–हानिको घेरोबाट बाहिर निस्केर इतिहास लेखन र अनुसन्धानका काम गर्न सक्ने दोस्रो पुस्ताको उत्पादन इतिहासको अध्ययन–अध्यापन तथा अनुसन्धानको दायित्व वहन गरेको त्रिभुवन विश्वविद्यालयको इतिहास विभागले पनि गर्न सकेन र संशोधन मण्डलले पनि गर्न सकेन।

संशोधन मण्डललाई हाँक्न सक्ने दोस्रो पुस्ता तयार नहुँदा अब फेरि नेपालको इतिहास लेखनको दायित्व विदेशीको हातमा नजाला भन्न सकिन्न। त्यतिबेला महेशराज पन्तले भने झैं नेपाल फट्के किनाराको साक्षी मात्र होला भन्ने तीतो सत्यको कल्पना गर्नुको विकल्प पनि छैन।

नयराज पन्त ।

उत्तराधिकारीको प्रश्न

संशोधन मण्डलद्वारा प्रकाशित पूर्णिमा हालसम्म १४४औं अंक प्रकाशित भइसकेको छ। २५औं अंकदेखि १४४ औं अंकको प्रकाशनको प्रक्रियामा केही समयसम्म चार जनाले र पछि दुई जनाले मात्र निरन्तरता दिनु कठिन कार्य हो। यसबाहेक पनि संशोधन मण्डलबाट दर्जनौं कृति प्रकाशन भइसकेका छन्।

अन्य मानविकी विषयहरूको तुलनामा इतिहास लेखनको विधा कठिन मानिन्छ। प्रशस्त धैर्य, लगानी र आत्मबलले मात्र यो क्षेत्रमा टिक्न सकिन्छ। इतिहास विषय नै अत्यन्त कम पढिने हाम्रो जस्तो समाजमा यस सम्बन्धी पुस्तक बिक्री भएर नाफा आर्जन होला भनेर सोच्नसम्म पनि सकिन्न। राज्यबाट उचित सहयोग र प्राज्ञिक संस्थाहरूबाट उचित मान्यता नपाउँदा पनि दुई सदस्यीय संस्थाको अथक् यात्रा सराहनीय पक्ष हो। नाफा–घाटाभन्दा माथि उठेर अनवरत रूपमा खट्न सकेको हुँदा संशोधन मण्डल आजसम्म टिक्न सकेको हो।

इतिहासकार दिनेशराज पन्त नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत सरकारी संस्थामा र महेशराज पन्त जर्मन प्रोजेक्टमा काम गर्ने अवसर पाई आर्थिक अवस्था राम्रो हुँदा इतिहास अध्ययनमा निरन्तरता दिन सकेको अनुमान गर्न सकिन्छ। धनवज्र बज्राचार्य लगायत संस्थाका पाँच जना योग्य सदस्यले आफ्नो प्रतिज्ञा तोड्दै पलायन हुनुमा आर्थिक समस्यालाई नै एउटा कारण मान्न सकिन्छ। बज्राचार्यले २०२८ सालमा संशोधन मण्डल छाडेर त्रिवि अन्तर्गतको नेपाल एशियाली अध्ययन केन्द्र (सिनास) मा आबद्ध भएपछि उनको आर्थिकस्तर सुध्रँदै गएको संशोधन मण्डल लगायत बज्राचार्यका लेखोटहरूबाट थाहा पाइन्छ।

बज्राचार्यले वि.सं. २०३० मा प्रकाशित लिच्छविकालका अभिलेख नामक पुस्तकमा मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा चुलियो। तर, उनको यो सफलताको पृष्ठभूमिमा संशोधन मण्डलको देन रहेको तथ्य बिर्सन मिल्दैन। वि.सं २००९ देखि २०२८ सम्म झण्डै १९–२० वर्ष संशोधन मण्डलमा काम गरेको अनुभव नै उनको उक्त पुस्तकको आधार हो।

बज्राचार्यले त्रिवि सिनासमा नियुक्ति पाउँदा र मदन पुरस्कार प्राप्त गर्दा संशोधन मण्डल नै सम्मानित भए बराबरको खुशी नयराज पन्तले व्यक्त गरेका छन्। अवसर र मानसम्मानले माथि उक्लिंदै गए पनि संशोधन मण्डललाई नत्याग्नू भन्ने पन्तको अपेक्षा भने निराशामा परिणत हुँदै गएको उनका लेखहरूबाट बुझिन्छ। बज्राचार्यसँगै शंकरमान राजवंशी, ज्ञानमणि नेपाल लगायत व्यक्तिहरूले पनि सो संस्थाबाट अलग रही एकल रूपमा काम गर्न थालेको देखिन्छ।

इतिहास लेखनमा ख्याति कमाएका इतिहासकारका सन्तति यस पेशामा लागेको देखिंदैन। नयराजका छोराहरू दिनेशराज र महेशराज पन्तले आफ्नो बाबुको विरासत अद्यापि थामे पनि पन्त दाजुभाइका सन्तति इतिहास लेखनमा नलागेको दिनेशराज बताउँछन्। तुलनात्मक रूपमा अन्य व्यक्तिलाई भन्दा इतिहासकारका सन्तानलाई यो पेशामा आउन सजिलो देखिए पनि उत्तराधिकारीको प्रश्न अनुत्तरित नै छ।

सौभाग्यवश, भोलानाथ पौड्यालका छोरा रुक्मनाथ र नयनाथ पौड्यालहरू इतिहास लेखनको क्षेत्रमा थोरै मात्रामा भए पनि लागिपरेका छन्। शंकरमान राजवंशीका छोरा श्यामसुन्दर राजवंशीले लिच्छविकालीन संवत्हरूबारे केही लेखे पनि उनी त्रिविका उत्पादन भएकाले संशोधन मण्डलसँग साइनो छैन। धनवज्र बज्राचार्यका भतिजा गौतमवज्र बज्राचार्यले यस क्षेत्रमा काम गरेको देखिन्छ।

समग्रमा, राज्यको असहयोग, कठिन साधना र धैर्यको अभाव, आर्थिक समस्या आदि कारणले संशोधन मण्डलका सदस्यहरू समेत यो क्षेत्रमा नआउनु इतिहास लेखनको क्षेत्रमा एउटा समस्या नै मान्न सकिन्छ।

महेशराज पन्त ।

आरोप, आलोचना र खण्डन

नेपालको प्रामाणिक इतिहासको लेखनमा बलियो हस्तक्षेप गर्दै आएको इतिहास संशोधन मण्डलले धेरै विद्वान्सँग प्राज्ञिक बहस गर्नुपरेको इतिहास छ। अरूले लेखेका गलत इतिहास केलाएर सप्रमाण प्रस्तुत गर्दा र संशोधन मण्डलले प्रकाशन गरेका रचना कृति चोरी भएको सन्दर्भमा विवाद भएको देखिन्छ।

संशोधन मण्डलले अभिलेख खोजेर लिप्यन्तर र भाषान्तर गरी प्रकाशन गरेको सामग्री इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नो बनाई प्रकाशन गरेका आरोप पनि लाग्यो । त्यस्तै, भैरवबहादुर प्रधानले लेखेको मध्यकालीन नेपाल शीर्षकको पुस्तकमा भएका त्रुटिहरूलाई संशोधन मण्डलले प्रमाणसहित खण्डन गर्दा उनी वादविवादको तहसम्म उत्रेको देखिन्छ (को हुन् नयराज पन्त ? पृष्ठ ७४–७७)।

व्यक्तिसँग मात्र होइन, इतिहास र पुरातत्वको अध्ययन गर्ने सरकारी संस्था पुरातत्व विभागसँग पनि संशोधन मण्डलको टकराव परेको देखिन्छ। ज. सुरशमशेर जबराबाट प्राप्त प्रताप मल्लले जारी गरेको नेपाली भाषाको शिलापत्रलाई संशोधन मण्डलले वि.सं. २०११ मै प्रकाशित गरेको थियो। त्यस शिलालेखलाई २५ फागुन २०१३ को गोरखापत्रमा पुरातत्व विभागको नयाँ खोज भनी प्रकाशित खबरको ‘पुरातत्व विभाग सावधान भई काम गरोस्’ भनी खण्डन गरिएको थियो। गोरखापत्र र पुरातत्व विभागले संशोधन मण्डलको यस खण्डनको जवाफ दिएको देखिंदैन(ऐजन पृष्ठ ७७)।

कमलप्रकाश मल्लसँग संशोधन मण्डलको वादविवाद नेपालको इतिहास लेखनको इतिहासमा विशेष चर्चित छ। भैरवबहादुर प्रधानले संशोधन मण्डललाई जसरी होच्याएका थिए, त्यसभन्दा पनि कडा रूपमा मल्ल प्रस्तुत भए। उनले इतिहास लेखनको आधुनिक ज्ञान, विज्ञान, शास्त्र र सिद्धान्त संशोधन मण्डललाई थाहै छैन भनेका थिए। 


अंग्रेजी साहित्य पढेका मल्ल त्यस जमानाका नामी लेखक थिए। साहित्यबाट इतिहासतिरको उनको फड्को गर्व गर्न लायक नै मान्नुपर्छ। अर्कोतिर, संस्कृत साहित्यका धुरन्धर विद्वान् संशोधन मण्डलका सदस्यहरूले नेपालको इतिहास लेखनको क्षेत्रमा आजका दिनसम्म पनि वर्चस्व कायम गर्न सफल भएका छन्।

कमलप्रकाश मल्ल ।

संशोधन मण्डलले प्रकाशन गरेको श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश नामक पुस्तकमा टिप्पणी गर्दै कमलप्रकाश मल्लले संशोधन मण्डललाई चाकडीवाजको आरोप लगाएका छन् (कमलप्रकाश मल्ल, कन्ट्रिव्युसन्स टु नेप्लीज स्टडिज, २०४०)। यस आरोपलाई संशोधन मण्डलले लामो लेखमार्फत खण्डन गरेको देखिन्छ (पूर्णिमा, अंक ५८)। मल्लले संशोधन मण्डलका अर्का सदस्य धनवज्र बज्राचार्यको पनि आलोचना गरेको देखिन्छ। पछि वि.सं. २०२८ मा बज्राचार्यले संशोधन मण्डलबाट राजीनामा दिएपछि मल्लले धनवज्रसँग मिलेर काम गरेको देखिन्छ।

सारमा हेर्दा यी दुवै समूहका विद्वानहरू आ–आफ्ना विषय र क्षेत्रमा अब्बल छन्। यिनीहरूले एकअर्कामाथि लगाएका आरोपको खण्डन गर्न सक्दो प्रयास गरेका छन्। यी दुवैका वादविवादलाई आलोचनाको कसीमा राखेर व्याख्या विश्लेषण गर्न सकेमा सामाजिक इतिहासको क्षेत्रमा नवीन सिद्धान्त स्थापना गर्न सकिन्छ।

इतिहास लेखनको पहिलो काम नै अभिलेख संकलन गरी त्यसको लिप्यन्तर, भाषान्तर र व्याख्या गर्नु हो, जुन काम जो कोहीले गर्न सक्दैन। यसकारण संशोधन मण्डलको यस क्षमतामा प्रश्न गर्न मिल्दैन। इतिहास लेखिएर आइसकेपछि त्यसको विवेचना र आलोचना गर्न त जोकोहीले सकिहाल्छ। पछिल्लो कालका इतिहासकार भनिएकाहरूले संशोधन मण्डलले गरेको व्याख्यामा आधारित रहेर नै पुस्तक लेखेका हुन्। सीधै अभिलेख खोज गरी इतिहासको विवेचना गर्न संशोधन मण्डलको विकल्प छैन।

संशोधन मण्डललाई इतिहासको सामाजिक व्याख्या नगरेको आरोप लाग्छ, जुन सत्य होइन। एउटा पाटो के हो भने, अभिलेखको खोज र व्याख्यामै लामो समय बित्ने भएकाले सामाजिक इतिहासको अलग्गै पुस्तक लेख्न नभ्याएको हो। यति हुँदाहुँदै संशोधन मण्डलले प्रकाशन गरेका कृतिहरूमा सामाजिक इतिहासको प्रशस्तै व्याख्या गरेको छ। संशोधन मण्डलले इतिहास लेखनको लागि मूलबाटो बनाइदिएको छ। त्यो बाटोमा हिंड्न सक्ने योग्य पात्र नभएको भने पक्कै हो।

आलोचनाको सन्दर्भमा, आलोचना सुन्न र गल्ती स्वीकार गर्न नसक्नेहरूले संशोधन मण्डललाई कडा आलोचक भनी प्रस्तुत गर्छन्। संशोधन मण्डल आफू पनि तथ्य र तर्कसहितको आलोचना छ भने आत्मसंशोधन गर्न तयार देखिन्छ। संशोधन मण्डलले प्रस्तुत गरेका खण्डनमण्डन र प्रमाणका आधारसामु स्वीकार गर्नुको विकल्प हुँदैन।

केही विद्वान्ले संशोधन मण्डललाई राजावादी वा पञ्चायती इतिहासकार भनी आरोप लगाउने गरेका छन्। तर, पञ्चायत जन्मिनु भन्दा १५–१८ वर्ष अघिदेखि नै संशोधन मण्डल इतिहास लेख्न थालेको इतिहास बिर्सेको देखिन्छ। संशोधन मण्डलले चाकडी वा प्रशस्तिको गीत गाएर इतिहास लेखेको प्रमाण छैन, जे जति गरेको छ त्यो लगभग ७० वर्षको मिहिनेतको परिणाम हो।

आजका दिनसम्म लिच्छविकालका अभिलेखहरूमा केही संकेतसम्म पनि नपाइएको तथा राज्यले विभूति भनी घोषणा गरेको भृकुटीको विषयमा संशोधन मण्डलले एक शब्द खर्च गरेको छैन। महानायक भनिएका भीमसेन थापाको गुणदोष केलाएर विवेचना गरेको छ भने प्रतिनायक भनिएका जंगबहादुर राणाको पनि उचित समालोचना गरेको देखिन्छ।

सामग्री स्रोत :- यस लेख हिमाल खबरमा सोमबार, ५ असोज, २०७७ प्रकाशित 

नोट:-

यस ब्लगमा राखिएका सामाग्री डिजिटिल हिमालयबाट साभार गरिएको हो। यस सामाग्रीको सम्पूर्ण अधिकार संसोधन मण्डलमा रहेको छ। पूर्णिमाको यि अङ्क संसोधन मण्डलले डिजिटल हिमालयलाई उपलब्ध गराएको हो। सनातन चौतारीले यस सामाग्री नेपाली पाठकको सजिलोको लागि यहाँ संकलन गरेर राखिदिएको मात्र हो। यस संकलन बाट सनातन चौतारीले कुनै पनि किसिमको फाइदा लिएको छैन। हामीले मात्र प्रचार प्रसार गरेका हौ। यस कार्य हामीले नेपाली पाठकको हितको निम्ति गरिएको हो।   

धन्यवाद।
सनातन चौतारी
#sanatanChautari
#Sanatan
#Chautari
#सनातनचौतारी 
#सनातन #चौतारी ।
#सनातनहिन्दु 
@sanatanchautari 
#मौलिक #रैथाने 

संसोधन मण्डलद्वारा प्रकाशित पुर्णिमा त्रैमासिक पत्रिकाको वर्ष १ देखि २५ सम्मका सम्पूर्ण भागहरु।

वर्ष १ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष २ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ३ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ४ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ५ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ६ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ७ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ८ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ९ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष १० अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


वर्ष ११ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस। 


  वर्ष १२ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।



वर्ष १३ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।

वर्ष १४ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
वर्ष

१५ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।



वर्ष १६ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।


वर्ष १७ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
वर्ष 

१८ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
वर्ष 

१९ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
 


वर्ष २० अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
 

वर्ष २१ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
 

वर्ष २२ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।

वर्ष २३ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
 

वर्ष २४ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।
 

वर्ष २५ अङ्क १ देखि ४ सम्मका सबै भाग हेर्नुहोस।

No comments:

Post a Comment