आत्मज्ञान पुस्तक :- खप्तड बाबा

खप्तड बाबाको जन्म १८८०, फेब्रुअरी १० (विसं १९३६, माघ २९) का दिन भारतको जम्मु–कश्मीरमा भएको थियो । उहाँले त्यो युगमा बेलायतमा गएर एलएमएस (लाइसेन्स अफ मेडिकल साइन्स) गर्नुभएको थियो । बेलायतमा पढेर फिरेपछि उहाँले जम्मु–कश्मीरकै एउटा अस्पतालमा काम गर्न थाल्नुभयो । कश्मीरमा डाक्टरका रूपमा कार्यरत रहँदै उहाँमा वैराग्य पलाएको थियो ।वैराग्यपछि ज्ञानको खोजीमा हिँड्नुभएका बाबाले केही समय बनारसमा अध्ययन गरेर बिताउनुभयो । त्यसबखत अन्य कहाँ, के गर्नुभयो यकिन छैन । तर, भागीरथी नदीको किनारमा रहेका एक महात्मा ज्ञानाश्रम सरस्वतीसँगको परिचयपछि उहाँबाटै बाबाले संन्यासको दीक्षा प्राप्त गर्नुभएको थियो । 
त्यसपछि बाबाको संन्यासी नाम रहन गयो– सच्चिदानन्द सरस्वती । यो तथ्य खप्तड बाबाले ‘विचार विज्ञान’ किताबको भूमिकामा उल्लेख गर्नुभएको छ ।

बाबा विसं १९८६ मा पूर्वी नाका इलामबाट नेपाल प्रवेश गर्नुभएको थियो । नेपाल प्रवेशसँगै उहाँ यहाँका विभिन्न स्थान हुँदै अन्तिममा खप्तड पुगेर बस्नुभएको हो ।

बाबा खप्तड पुग्नुअघि कहिल्यै एक स्थानमा २/३ वर्षभन्दा धेरै बस्नुभएन । एकै स्थानमा बस्दा त्यो ठाउँ र त्यहाँका मान्छेप्रति मोह जाग्छ, जुन संन्यासीका लागि ठीक होइन भन्ने उहाँको सोच थियो । खप्तडको लेकमा पुगेपछि भने उहाँको मन अडियो । त्यहाँ बाबाले स्थायी कुटी बनाएर बस्न थाल्नुभयो । उहाँ विसं २००२/२००३ सालदेखि त्यहाँ बस्न थाल्नुभएको थियो ।

आयुर्वेदका ज्ञाता उहाँलाई मानिसहरूले ‘खप्तड बाबा’ को नामबाट चिन्नुपूर्व ‘डाक्टर बाबा’ भनी चिन्थे । उहाँ गाउँलेहरूलाई गाह्रो परको बखत उपचार पनि गरिदिनुहुन्थ्यो । आयुर्वेदको अद्वितीय ज्ञान भएका बाबाले खप्तडमा पाइने धेरै प्रकारका जडीबुटीबारे अध्ययन–अनुसन्धान गरी त्यसबाट औषधि बनाउने विधि तयार पार्नुभएको छ । त्यो उहाँको किताब ‘स्वास्थ्य विज्ञान’ र ‘आरोग्य विज्ञान’ मा उल्लेख छ ।

२०५३ साल वैशाख २७ गते उहाँ ब्रह्मलीन हुनुभएको थियो । ब्रह्मलीनपछि बूढानीलकण्ठको कुटीमै उहाँलाई थल समाधि प्रदान गरियो त्यसपछि त्यहाँ अहिले मन्दिर बनेको छ । मन्दिरमा खप्तड बाबाको जन्मदिन र समाधि लिएको दिनमा पूजा–पाठ र सत्संग हुन्छ ।

आत्मज्ञान पुस्तक

No comments:

Post a Comment