खप्तड बाबाले आफ्ना दर्जनभन्दा बढी ग्रन्थमा परम्परागत पण्डित र विद्वान्हरूले जस्तो शास्त्र प्रमाणलाई अधिक स्थान दिएका छैनन् । बरु मनोविज्ञानसम्मत बौद्धिक युक्तिहरू, ऐतिहासिक तथ्यहरू तथा जनसाधारणका अनुभवलाई प्रमाण मानेका छन् र आफ्ना मतहरू स्थापित गर्न यिनै प्रमाणको उपयोग गरेका छन् ।
खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृतिउन्मुख भएको उनले देखे । मानिसले जीवनभन्दा जीवनको ज्ञानलाई महत्त्व दिन थालेको र सुखभन्दा सुखका साधनहरू बटुल्ने ध्याउन्न गर्न थालेको उनले देखे । संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्छ ।
यसरी नभएको ठाउँमा सुख खोज्दै तड्पिरहेका मानिसलाई ‘पर्ख, त्यहाँ होइन, यहाँ खोज’ भनी औंल्याउन खप्तड बाबाले धर्म विज्ञान लेखे ।
म र मेरो कर्तब्य पुस्तक
No comments:
Post a Comment